LISTEN LIVE RADIO

आउँदो चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र



आउँदो चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र

काठमाण्डौ ५ कार्तिक ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणको रङ्ग रातो मसीको रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । यस अघि पालिका चुनावमा मतपत्रको पृष्ठभूमि हरियो बनाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुखसँग रङ मिलेको भन्दै विरोध गर्नुभएको थियो ।

निर्वाचन आयोगले हिजोसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ ।

मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुने आयोगले जनाएको छ । अहिलेसम्म प्रत्यक्षतर्फ एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिम लगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ ।

यता सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका झण्डै तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् ।

निर्वाचन सुरक्षा समितिले तयार पारेकाे प्रतिवेदनका अनुसार सबैभन्दा धेरै अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन् । कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यसमध्ये सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन् । जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।

कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपद्का कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको समितिले जनाएको छ । कर्णालीमा आउँदो चुनावका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार ४ सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे