LISTEN LIVE RADIO

भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज घर–घरमा कुश भित्र्याएर मनाइँदै



भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज घर–घरमा कुश भित्र्याएर मनाइँदै

काठमाण्डाै २२ भदाै । भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज घर–घरमा कुश भित्र्याएर मनाइँदै छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा.रामचन्द्र गौतमले जानकारी दिए ।

साथै आजका दिन बुबाको मुख हेर्ने गरिन्छ । बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ । बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन् ।

कुशे औँसीका दिन काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ । विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका रुपमा पनि चिनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्नेहरूको भीड लाग्ने गर्छ । तर यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण मन्दिर क्षेत्र बन्द रहेको छ। मन्दिर छिर्ने नाकामा सुरक्षाकर्मी खटाएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे