LISTEN LIVE RADIO

लुम्बिनी सरकारलाई आजै पूर्णता दिने तयारी, एमालेद्वारा मन्त्रीहरूकाे नाम सिफारिस



लुम्बिनी सरकारलाई आजै पूर्णता दिने तयारी, एमालेद्वारा मन्त्रीहरूकाे नाम सिफारिस

भालुवाङ ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले आजै सरकारलाई पूर्णता दिने तयारी गर्नु भएकाे छ । आजै नै मन्त्रीहरू नियुक्ति गर्ने देखि सपथ ग्रहण सम्म गराउने तयारी रहेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

सरकारमा सहभागी पाँच राजनिती दललाई सरकारमा सहभागी गराउने गरी मुख्यमन्त्रीले दलहरूबाट मन्त्रीकाे नाम माग गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ।

चैत २३ मा मुख्यमन्त्री नियुक्त हुनु भएका महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसक्नु भएकाे छ । अब बाँकीलाई मन्त्रीमा सहभागी गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएकाे छ।

लुम्बिनी प्रदेश सरकारमा एमालेले दलका उपनेता चेतनारायण आचार्यकाे नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूकाे नाम सिफारिस गरेकाे छ । आचार्य भने यस अघि नै मन्त्री बनिसक्नु भएकाे छ तर उहाँकाे जिम्मेवारी भने अहिले सम्म ताेकिएकाे छैन।

मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यले अर्थमन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी पाउने जनाइएको छ । एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्रीकाे रूपमा पठाउनेगरी नाम सिफारिस गरेकाे एमाले संसदीय दलकाे कार्यालयले जनाएको छ । ढकाललाई सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी पाउने देखिएकाे छ।

यस्तै माओवादीबाट सरकारमा दिपेन्द्र पुन मन्त्री बनिसक्नु भएकाे छ । माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्ने बताइएकाे छ । पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयकाे जिम्मेवारी पाउने माओवादी केन्द्र संसदीय दलकाे कार्यालयले जनाएकाे छ।

यस्तै जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनी सक्नु भएकाे छ। उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाउने हुनु भएकाे छ । नागरिक उन्मुक्ति पार्टीले भाैतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ। साे दलभित्र कसलाई मन्त्रीकाे रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेकाे छ। स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्न लाग्नु भएकाे छ। उहाँले पर्यटन उद्योग र सहकारी मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ।

यसरी मन्त्रालयकाे भागबन्डा गर्दा लुम्बिनीमा मुख्यमन्त्री सहित दश मन्त्रालय छन् । दुई वटा मन्त्रालय थप्नुपर्ने देखिन्छ। मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूकाे बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियाे।

यता सहमतिअनुसार नेकपा एकिकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने देखिएकाे छ । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने बिषयमा मुख्यमन्त्री संग अहिले सम्म कुनै छलफल नभएकाे समाजबादीका लुम्बिनी प्रदेश कार्यालय सुदन खनालले जानकारी दिनु भएकाे छ । मन्त्री नपाए सरकारलाई समर्थन गर्ने कि नगर्ने बिषयमा भने समाजबादीले केही बताएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे