LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा थप ७ जना मन्त्री नियुक्त, जिम्मेवारी पछि ताेकिने, सपथ ग्रहण आजै



लुम्बिनी प्रदेशमा थप ७ जना मन्त्री नियुक्त, जिम्मेवारी पछि ताेकिने, सपथ ग्रहण आजै

भालुवाङ ६ बैशाख । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना मन्त्री नियुक्त गर्नु भएकाे छ । मुख्यमन्त्री महराले नेकपा एमालेका ४ सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका एक/एक तथा स्वतन्त्र सांसद एक जनालाई मन्त्री नियुक्त गर्नु भएकाे छ ।

नियुक्त हुने मन्त्रीहरुमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलबस्तुका अर्जुन रकुमार केसी, रुपन्देहीका भुमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नाउपाका धर्मबहादुर चौधरी, नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री नियुक्त हुनु भएकाे छ ।

उहाँहरुले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयले जनाएकाे छ । उहाँहरूको आज बिहीबार साँझ ५ बजे शपथ ग्रहणको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा, नेकपा एकीकृत समाजबादी र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय भागबन्डामा परेको छ ।

यसैबीच यस अघि बिना बिभागीय मन्त्रीकाे सपथ लिनु भएका मन्त्रीहरूकाे कार्य विभाजन समेत गरिएकाे छ । मन्त्रिमण्डल बिस्तार संगै तीन जना बिना बिभागीय मन्त्रीहरूकाे कार्य विभाजन गरिएकाे मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयले जनाएकाे छ ।

जस अन्तर्गत एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएकाे मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयले जनाएकाे छ ।

मुख्यमन्त्री महराले एकीकत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्रीमा नियुक्त गरे संगै आज मात्रै सपथ ग्रहण गर्ने मन्त्रीकाे संख्या ७ पुगेकाे छ । समाजवादीकाे लगातार दबाबपछि मुख्यमन्त्री महराले सांसद अधिकारीलाई मन्त्री नियुक्त गर्नु भएकाे हाे । यस अघि मुख्यमन्त्री महराले एमालेका ५ र एक स्वतन्त्र सांसदलाई मन्त्री नियुक्त गर्नु भएकाे थियाे ।

यता जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने असन्तुष्ट देखिएका छन् । मुख्यमन्त्री महराले यस अघि गरेकाे सात बुँँदे सहमति अनुसार जसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएकाे पार्टी लुम्बिनी प्रदेश अध्यक्ष असाेक यादवले जनाउनु भएकाे छ । जसपाबाट भण्डारीलाल अहिर यस अघि नै मुख्यमन्त्री संग सपथ लिई सक्नु भएकाे छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएकाे छ । यदि दुई वटा मन्त्रालय नपाए मुख्यमन्त्रीले दिएकाे विश्वासकाे मत समेत फिर्ता लिने चेतावनी समेत दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे