LISTEN LIVE RADIO

करेन्ट लागेर देउखुरीको मसुरियामा एकै घरका दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर



करेन्ट लागेर देउखुरीको मसुरियामा एकै घरका दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

भालुवाङ १० चैत । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोक आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ निवासी ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए । हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लाग्दा ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । एक्कासी बिजुली तार चुँडिएर उहाँको घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे