LISTEN LIVE RADIO

भद्रक्षीदेवी प्राविकाे नवनिर्मित ४ काेठे पक्की भवनको उद्घाटन



देउखुरी ३१ वैशाख ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर नाै धापखाेलामा रहेको भद्रक्षीदेवी प्राथमिक विद्यालयकाे नवनिर्मित ४ काेठे पक्की भवनको आईतवार उद्घाटन गरिएको छ।

भवनको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् । संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त ३६ लाख र गाउँपालिकाकाे ८ लाख रुपैयाँ गरि कुल ४४ लाख रुपैयाँकाे लागतमा भवनकाे निर्माण कार्य सम्पन्न भएको हाे।

उद्घाटन कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शिक्षा विकासको पहिलो मेरुदण्ड भएको बताउँदै शिक्षा क्षेत्रको विकास बिना अन्य विकासका कार्यहरू सम्भब नभएको बताए । त्यस्तै उनले विद्यालयमा शिक्षा विकासका निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुन जरुरी रहेको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सभामुख घर्तीले ग्रामीण क्षेत्रको आर्थिक बिकासमा टेवा पुर्याउने गरि कानुन निर्माण गर्न आवश्यक रहेको समेत बताए । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले भवन बनाएर मात्र नहुने भन्दै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए। अध्यक्ष विष्टले पालिकाले विकट बस्तीहरुलाई विशेष ध्यानमा राखि काम गरिरहेको बताउँदै क्रमश आधारभूत आवश्यकता पुरा हुदै जाने बताए ।

वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले २०४५ सालमा स्थापना भएको बिधालयको भवन सबैलाई पायक पर्ने सित्तल डाडामा निर्माण भएकाले विद्यालय सम्म पुग्न सबैलाई सहज हुने बताए । साे अवसरमा शिशु कक्षा देखि कक्षा ५ सम्म अध्यनरत गरिब विपन्न विद्यार्थीहरुलाई पालिकाकाे तर्फबाट शैक्षिक सामाग्री कापी वितरण गरिएको थियाे। त्यस्तै कार्यक्रममा प्रधानाध्यापक पदमा रहि लामाे समय सम्म अध्यापन गराई सरुवा भएर दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयामा जान लागेकी शिक्षिका यशाेदा घिमिरेलाई विद्यालय परिवारले फूलमाला र मायाकाे चिनाे प्रदान गरि विदाई गरेका थिए ।

उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक, सर्वाेदय माध्यमिक विद्यालयका शिक्षक कृष्ण बहादुर बुढा मगर, सभामुखका प्रेस संयाेजक रुद्रहरी कुँवर , शिक्षक छविलाल कडेल लगायतको सहभागीता रहेको थियो।कार्यक्रमको सञ्चालन शिक्षक रामचन्द्र चाैधरीले गरेका थिए ।

Seen by PressOmprakash Gupta at Wednesday 23:13

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे