LISTEN LIVE RADIO

भालुवाङ महोत्सवमा कृषिका सामाग्री, हस्तकला देखि माटोको खुत्रुके सम्म



भालुवाङ ३० फागुन । राप्ती गाउँपालिका वडा नं. ४ निवासी सरस्वती रिजाल भालुबाङ महोत्सवमा पुग्दा उनलाई फलामबाट बनेका कृषि औजारले ध्यान तान्यो । घरमा चाहिएको खुर्पा रोजिन् । महोत्सवमा उनलाई घरासयी कामको लागि चाहिएको औजार प्राप्त भयो । ‘महोत्सवमा कृषि औजार राखेको रहेछ । चाहिएको थियो, सजिलो भयो’– उनले भनिन्– ‘स्थानीय सामग्रीहरु महोत्सवमा देख्न पाउँदा खुशी लाग्यो ।’

भालुबाङमा जारी पाँचांै राप्ती लुम्बिनी प्रादेशिक व्यापार, पर्यटन तथा कृषि महोत्सवमा स्थानीय उत्पादनका सामग्री बिक्री वितरण र प्रदर्शनीमा राखिएको छ । जसले गर्दा स्थानीय उत्पादनका सामग्रीले बजार पाएको छ । तुलसीपुर–३ निवासी अमृत विश्वकर्माले व्यावसायिकरुपमा फलामका सामग्री तयार पार्दै आएका छन् ।

विगत पाँच वर्षदेखि विश्वकर्मा मेला महोत्सवमा कृषि औजारका सामाग्री विक्री वितरणका लागि पुग्ने गरेका छन् । ‘यो हाम्रो परम्परागत पेशा हो । यसलाई बजारसँग जोडेका छौं’– उनले भने– ‘खेतीपातीको सिजनमा त धेरै बिक्री हुन्छ । मेला महोत्सवले गर्दा हाम्रा सामग्री बिक्री वितरण भइरहेका छन् ।’ विश्वकर्मा पश्चिममा धनगढी देखि पूर्वमा बुटवलसम्म सामग्री बिक्री गर्न पुगेका छन् ।

उहाँले फलामबाट बनेका कुटो, कोदालो, सेई, चुलेसी, खुकुरी, खुर्पासम्म बनाएर बिक्री गर्दै आएका छन् । दुई सयदेखि दुई हजार रुपैयाँसम्म पर्ने सामग्री महोत्सवमा राखिएको छ । ‘आरन गाउँमै छ । त्यहीं बन्छन्’– उनले भने– ‘कुनै समय हेपिएको पेशा थियो, अहिले यसैले सम्मान पनि दिएको छ ।’ प्युठानको नौबहिनी गाउँपालिका–६ बहानेका स्थानीयले अल्लो र सिस्नोबाट बनेका कपडा उत्पादन गर्दै आएका छन् । कोठी हिमाल अल्लो कपडा उद्योग नौबहनी गाउँपालिका–६ बहानेका दिपेन्द्र बुढा मगरले मेला महोत्सवले गर्दा अल्लो सामग्रीको प्रचार भएको बताए। उनले भने– ‘शिरदेखि पाउसम्म लगाउने कपडा बिक्री हुने गरेका छन् । हामी खुशी भएका छौं ।’

दुई सय ५० रुपैयाँको सानो झोलादेखि आठ हजार पाँच सय रुपैयाँ पर्ने कोटसम्म बिक्रीको लागि राखिएको छ । महोत्सव अवलोकन गर्न आउनेहरुले सामग्री रुचाएको उनले बताए । राप्ती गाउँपालिका–८ पिपरीमा समुदायस्तरमा दुनाटपरी उद्योग खोलिएको छ । सालको पातबाट बनेका दुना र टपरी महोत्सवमा राखिएको छ । यसबाट स्थानीय उत्पादनको प्रचारप्रसार भएको छ । हाम्रो बहुउद्देश्यीय कृषि फार्म राप्ती–२ ले विरुवाहरु प्रदर्शनीमा राखेको छ । बेलौती, ड्रागन फ्रट, नीम, कागती, अंगुर लगायतका विरुवाहरु बिक्री वितरण र प्रदर्शनीका लागि राखिएको छ । माटोको भाँडासमेत महोत्सव स्थलमा राखिएको छ । गढवा गाउँपालिका वडा नं. १ का स्थानीय कुमाल समुदायले उत्पादन गरेका भाँडाहरु राखिएको छ । भालुबाङमा जारी महोत्सवले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र प्रवद्र्धनमा मद्दत गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए । ‘स्थानीय सामग्रीकै बजारीकरण गर्ने उद्देश्य हो । हामीकहाँ २१ वटा स्थानीय सामग्रीका स्टल छन्’– उनले भने– ‘महोत्सवले आर्थिक कारोवार समेत बढाएको छ ।’ नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे