LISTEN LIVE RADIO

देउखुरीकाे गढवामा पालिकास्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रम सम्पन्न



गढवा ५ माघ । दाङ-देउखुरीको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार सम्पन्न भएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर -४, को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको बिहिवार छेठौ दिनमा गढवा – ४ प्रसेनीमा खेलको समापन गरिएको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ छ दिने खेलकुद प्रतियोगिताको बिहीबार समापन गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर चारका वडाध्यक्ष हरिभगत चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले खेल स्वास्थ्यको लागि मात्र अनुशासनको खेल पनि भएको बताइन् । उनले खेल क्षेत्रमा पालिकाले सबै वडा संग सहकार्य गरेर खेल जगतमा ठुलो फड्को मार्ने योजनामा पालिका लागेको बताइन् ।  उपाध्यक्ष चाैधरीले खेल एउटा मनोरञ्जन मात्र नभई खेल लाई राम्रो गतिमा अघि बढाउन सके र राम्रो खेलाडी उत्पादन गर्न सके गाउँपालिका को मात्र नभई सिंगो देशलाई बिश्व सामु चिनाउने र अर्थिक रुपमा देशले राम्रो फाइदा हुने बताइन् ।

प्रतियोगितामा गढवा गाउँपालिका भरीको गरी फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन र एक सय मिटर दौड र गुब्बारा फोड्ने खेल समाबेश गरिएको थियो । फुटबल खेलमा १८ टिम, भलिबल – ९ टिम,  ब्याडमिन्टन – २४, क्रिकेटमा १३ टिम, सय मिटर दौडमा१३ जना र गुब्बारा फोड्ने २५ जनाकाे सहभागीता रहेको खेलकुद संयोजक शेरबहादुर चोधरीले जानकारी दिए ।

भलिबल प्रतियोगितामा इभरग्रिन स्पोर्ट्स क्लब ‘ए’ टिम गढवा-४ छुट्की प्रसेनी प्रथम, इभरग्रिन स्पोर्ट्स क्लब ‘बि’टिम गढवा-४ छुट्की प्रसेनी दाेस्राे र न्यु सिर्जना युवा क्लव गढवा – २, कोठरी तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् । त्यसैगरी क्रिकेटमा देउखुरी युवा क्लब गढवा-४ अजगढवाले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ भने दाेस्राे र तृतीय टिम बीच बिबाद भएपछि दुबै समुहको खेल रद्द गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यसैगरी फुटबल तर्फ नइमी मुस्लिम एकता क्लब गढवा – ४ प्रसेनी प्रथम स्थान हुन सफल भएको छ भने प्रनाहा युवा क्लब दाेस्राे र न्यु सगरमाथा युवा क्लब गढवा-२ घुस्रा तृतीय स्थान हाँसिल गर्न सफल भएको हो । त्यसैगरी ब्याटमिन्टन खेलमा शम्भु चौधरी र कैलाशचन्द चौधरीको टिम प्रथम, सन्देश अधिकारी र बिशाल पौड्यालको टिम दाेस्राे तथा  सुदिप चौधरी र जनार्दन चौधरीको टिम तृतीय भएका हुन् । रेफ्रिमा प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी रहेका थिए । बिरेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक शेरबहादुर चोधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे