LISTEN LIVE RADIO

मगरहरूको कला संस्कृति संरक्षणका लागि मगर साँस्कृतिक गाउँ बनाउन सुझाव



मगरहरूको कला संस्कृति संरक्षणका लागि मगर साँस्कृतिक गाउँ बनाउन सुझाव

लालमटिया ३० पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मगरहरूको कला संस्कृति संरक्षणका लागि मगर साँस्कृतिक गाउँ बनाउन आग्रह गरेका छन् । मगर माैलिक साँस्कृतिक (माघे संक्रान्ति पर्व) को अवसरमा नेपाल मगर संघ राप्ती गाउँपालिकाले शनिबार लालमटियाको टुडेखेलमा आयोजना गरेको धनुषवाण हान्ने प्रतियोगिता तथा विविध साँस्कृतिक  कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।  प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले एक दिनका लागि मात्र मगर ड्रेस लगाएर मात्र नहुने भन्दै  अब ३६५ दिन लगाएर मगरहरूको पहिचान कायम गर्न सुझाव दिएका छन् ।

जसले बाहिरबाट आउने पाहुनालाई स्वागत गर्न तथा संस्कृतिलाई आर्थिक सँग जोड्न पनि मगर समुदायकाे संस्कृति संरक्षण गर्न आवश्यक रहेको र त्यसका लागि लागि पालिका, प्रदेश तथा संघ सरकार सँग समन्वय हुने बताएका थिए ।

संघका अध्यक्ष धनीराम घर्ती मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमम राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष अनुप चाैधरी, ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष डिल्ली घर्ती मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य भिमप्रकाश पुन मगर, पत्रकारहरू महेश रिजाल, जमिर शाहा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा आयोजित धनुषवाण हान्ने प्रतियोगिता टीका झार्की मगर प्रथम र अमित रोका मगर दोस्रो स्थान प्राप्त गरेका थिए । विजेताहरूलाई प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियोे । संघका कोषाध्यक्ष निर्मला राना मगरको स्वागत मन्तव्यबाट सुरू भएको  कार्यक्रमको सञ्चालन संघका सचिव हिरा झार्की मगरले गरेका थिए । साँस्कृतिक कार्यक्रममा घोराहीबाट मयुर नाच, राप्ती गाउँपालिका वडा नम्बर ८ बाट सोरठी नाच, वडा नम्बर ३ बाट नाैमती पञ्चेबाजा, वडा नम्बर २ बाट काैडा नाच, वडा नम्बर १ बाट झाकी प्रदर्शन गरिएको थियोे । कार्यक्रममा राप्ती र गढवाका मगरहरूको सभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे