LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहणको तयारी पूरा, भाेली दिउँसो १ बजे शपथ ग्रहण गराइदै



लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहणको तयारी पूरा, भाेली दिउँसो १ बजे शपथ ग्रहण गराइदै

भालुवाङ १६ पुस । लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनका अनुसार आइतबार दिउँसो १ बजेका लागि शपथ ग्रहण कार्यक्रम राखिएको छ । नव निर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने छन् । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थानान्तण भएसँगै लुम्बिनी प्रदेश सरकार र संसद सचिवालय लगायतको कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै सञ्चालन भएका छन् ।

प्रदेश प्रमुखको कार्यालय स्थान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट शपथ ग्रहण गराउन लागिएको हो । यसैवीच लुम्बिनी प्रदेशसभाको प्रथम अधिधेसन पुस १८ गतेका लागि आव्हान गरिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा निर्माण भएको नवनिर्मित भवनमा प्रदेशको पहिलो अधिवेशन बस्न लागेको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वार्चित भएका हुन । पहिलो अधिवेशन १८ गते १ बजे बस्नेछ । पहिलाे संसद बैठककाे अध्यक्षता प्रदेश सांसद डिल्लीराज भुसालले गर्ने छन् । निर्वाचन आयोगले संसद सचिवालयमा पठाएको प्रदेश सांसदको विवरणअनुसार गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सांसद भुसाल ज्येष्ठ रहेकाले उनकै अध्यक्षतामा प्रदेश संसदको पहिलो बैठक बस्ने भएकाे संसद सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार हुने प्रदेश सांसदको शपथको तयारीबारे स्थलगत अवलोकन समेत गरेका छन् । आफै स्वयम खटेर प्रदेश सभा भवन निर्माणमा सक्रियता देखाएका मुख्यमन्त्री केसीले शपथ ग्रहणका लागि आवश्यक तयारी आफुले पूरा भएको पाएको बताएका छन् ।

प्रदेशका १२ वटै जिल्लाबाट नव निर्वाचित प्रदेश सांसदहरु देउखुरी आउन थालेका छन् । सांसदहरुले नवनिर्मित भवन अवलोकन साथै मन्त्रालयको कार्यालय लगायत प्रदेश संंरचनाको बारेमा स्थलगत जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे