LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा बुवा आमाको उचित स्याहार सुसार गर्ने ३६ जाेडी छोरा बुहारी सम्मानित



राप्ती गाउँपालिकामा बुवा आमाको उचित स्याहार सुसार गर्ने ३६ जाेडी छोरा बुहारी सम्मानित

भालुवाङ ३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाले आमाबुवा तथा सासु ससुराको उचित स्याहार सुसार गरेका छोरा बुहारी तथा छोरी ज्वाईलाई सम्मान गरेको छ ।

राप्ती गाउँपालिका भित्रका ९ वटै वडालाई लक्षित गरेर जन्म दिने बुवा आमा र सासु ससुरालाई दिनरात पालनपालन तथा स्याहार सुसार गरेका ३६ जोडी छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहन स्वरुप बिहिवार राप्ती गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

गाउँपालिकाले उत्कृष्ट छोरा बुहारीको रुपमा सम्मानित हुँदा उनीहरु पनि खुसी भएका छन् । पछिल्लो समय कतिपय छोरा बुहारीले बुवाआमा आफ्नो बोझ भएको भन्दै वृद्धाआश्रममा पठाउने गरेको अवस्थामा आफुहरुले बुवाआमालाई स्याहार सुसार गर्न पाउनु निकै गर्भ लाग्ने गरेको छोरी बुहारीहरुको भनाई रहेको छ ।

राप्ती गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत जेष्ठ नागरिकको पालनपोषण समुदायमा राम्रो होस भनी स्याहार सुसार राम्रो गरेका परिवारका सदस्यहरुलाई दोसल्ला तथा प्रमाणपत्रको साथ सम्मान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले बताइन् ।

राप्ती गाउँपालिकाको यस आर्थिक वर्षको १ लाख बजेटले ९ वटा वडाबाट ४÷४ जोडीका दरले ३६ जोडिलाई सम्मान गरिएको हो । आगामी दिनमा जेष्ठ नागरिकको राम्रो स्याहार सुसार तथा पालन पोषणमा सहयोग पुराउने उदेश्य साथै जेष्ठ नागरिकले घर परिवारमा तिरस्कार, दुख नपाउनका लागि सजकता दिलाउन जेष्ठ नागरिकलाई राम्रो स्याहार गर्ने छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीले बताइन् ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, सम्मानित छोरा मिनराज अधिकारी लगायतका वक्ताहरुले आ आफ्नो भनाई राखेका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कल्पना खनालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे