फागु र फाउ संस्कृति : पाच्य अश्लीलता



फागु र फाउ संस्कृति : पाच्य अश्लीलता

गाउँमा रहने गरेका यौन सम्बन्धी विकृति तथा विसंगतिहरूको चिरफार गर्ने थलोको रुपमा सो अवसरलाई युवाहरुले उपयोग गर्ने गर्छन् । बाजागाजासहित युवाहरुले यौनका कुरा गर्दा स्वच्छन्दताको पराकाष्ठा नाघ्छ ।

गाउँमा रहने गरेका यौन सम्बन्धी विकृति तथा विसंगतिहरुको चिरफार गर्ने थलोको रुपमा सो अवसरलाई युवाहरुले उपयोग गर्ने गर्छन् । बाजागाजासहित युवाहरुले यौनका कुरा गर्दा स्वच्छन्दताको पराकाष्ठा नाघ्छ । रात्रिको एकान्तमा गाउँ नजिकै युवाहरुको अश्लील शब्दहरुले घरका अभिभावकलाई असर पुर्याउनु स्वभाविक हो तर पनि फागुका केही रात्रिहरुमा आमा–बाबुले युवाहरुलाई खुला छाडिदिएका हुन्छन् ।

होली भन्ने वित्तिकै रंग र पानीका लोला हान्ने पर्वको रुपमा मात्र चिनियो भने त्यो अपुरो हुन जान्छ । बहुजातीय, बहुसाम्प्रदायिक र बहुसाँस्कृतिक विविधताको धनी नेपालमा मनाइने पर्वहरुमा पनि विविधता र मौलिकता भेटाउन सकिन्छ ।

पश्चिमाञ्चलको लोक संस्कृतिको खानी मानिएको गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा मनाइने फागु पूर्णिमाको पृथक र रोचक परम्परा यसको ज्युँदो उदाहरणको रुपमा लिन सकिन्छ । फाल्गुन शुक्ल पूर्णिमाको दिनमा मनाइने फागु पूर्णिमा अर्थात होलीलाई यो क्षेत्रमा ‘फाउ पूर्णे’को रुपमा पुकार्ने गरिन्छ ।

होली नेपालमा मात्र होइन भारत लगायतका देशमा पनि रंगको पर्वको रुपमा रहेको छ जुन संस्कार यो क्षेत्रमा पनि अद्यापि छ तर त्यसभन्दा पनि गाना बजाना र स्वच्छन्दता यहाँको पृथकपन हो ।

फागुपूर्णिमा आउनु दुई दिन अघि अर्थात् त्रयोदशीदेखि नै यतातिर फागुको रौनक सुरु हुन थाल्छ खासगरी युवाहरुमा । फागुपूर्णिमालाई युवा र पुरुषहरुले खुलेर यौनसम्बन्धी कुरा गर्ने पर्वको रुपमा लिने गर्छन् ।

स्मरण रहोस् यो क्षेत्रमा रत्यौलीको समयमा महिलाहरुको लागि यौन जीवनका कुरा गर्ने स्वच्छन्दता प्राप्त भएको हुन्छ । नेपाली लोकजीवनमा रत्यौली, फागु लगायतका अवसरमा प्रस्तुत गरिने गीत तथा नृत्यहरुमा यौनिकता र अश्लीलता पाइन्छ भन्ने कुरा हामी सबैले सुनेकै कुरा पनि हो । नेपाली लोकजीवनको त्यही जीवन्त र साक्षात रुप गुल्मी तथा अर्घाखाँचीको सेरोफेरोमा अद्यापि पाउन सकिन्छ ।

हिरण्कशिपु र होलिका जस्ता आशुरी प्रवृत्तिको अवसान तथा प्रह्लद जस्ता सत्य, धर्मनिष्ठ दैवी प्रवृत्तिको उत्थानको रुपमा मनाइने होली पर्वलाई होलिका दहनको रुपमा चिर पोलेर मनाउने परम्परा रहेको छ । त्यसैले यो क्षेत्रमा होलीको दुई दिन अघिदेखि नै गाउँका सम्पूर्ण युवाहरुमा रात्रीको समयमा गाउँ नजिकैको चउरमा जम्मा भएर ठूलो चिर स्थापना गरी डढाउने गर्छन् । चिरमा पोलिने दाउरा तथा काठहरु पायक पर्ने स्थानबाट लगिन्छ जसमा गाउँलेको असहमतिको गुन्जायस रहँदैन । चीरदहनसँगै युवाहरुमा अश्लीलता र यौनिकताले चरम रुप लिन थाल्छ । स्वच्छन्द रुपमा धक नमानीकन युवाहरु एकअर्काको व्यक्तिगत यौन जीवनका रोचक प्रसंगहरुलाई भट्याउने गर्छन् । जसमा अन्य युवाहरुले साथ दिन्छन् ।

नवविवाहित युवक तथा प्रेम जोडीहरु अन्य युवाहरुको प्रमुख तारो बन्ने गर्छन् । गाउँमा रहने गरेका यौन सम्बन्धी विकृति तथा विसंगतिहरुको चिरफार गर्ने थलोको रुपमा सो अवसरलाई युवाहरुले उपयोग गर्ने गर्छन् । बाजागाजासहित युवाहरुले यौनका कुरा गर्दा स्वच्छन्दताको पराकाष्ठा नाघ्छ । रात्रिको एकान्तमा गाउँ नजिकै युवाहरुको अश्लील शब्दहरुले घरका अभिभावकलाई असर पुर्याउनु स्वभाविक हो तर पनि फागुका केही रात्रिहरुमा आमा–बाबुले युवाहरुलाई खुला छाडिदिएका हुन्छन् । फागुमा अश्लील शब्दहरु प्रयोग गर्ने भएकाले नै होला यो क्षेत्रमा अश्लील शब्दहरु बोल्नुलाई ‘फाउ’ खेल्नु भनिन्छ । फागुलाई स्थानीय भाषामा फाउ भनिने कुरा माथि नै उल्लेख गरिसकिएको छ  ।

फागु रात्रिमा मात्र होइन दिनमा पनि मनाउने गरिन्छ, जसमा प्राय बुढापाकाहरुको सहभागिता रहन्छ । फागुमा बुढापाकाहरुले दमाहा तथा झ्यालीहरुसँगै रामचरित्र कृष्ण चरित्र, तथा रोइला भाकामा समेत गीत र भजनहरु गाउने गर्छन् । फागुका गीतहरुमा राम र कृष्णको भक्तिधारा स्पष्टरुपमा छचल्किएको पाइन्छ । दशरथका छोराहरु वनमा सिकार खेल्न गएको र विभिन्न जीवहरु मारेको तर बाबुलाई मरेका जीव लगिदिन धक मानेको प्रसँग यसरी उठाइने गरिन्छ–

विन्द्रावन गया त जुरेली मार्या हो

किन लैजाउ बाबालाई सौवात

सावने हरी साउँपञ्चवटी जाउँ

फागुमा भातृत्व र प्रेमका प्रसँगहरु पनि उठ्ने गर्छन् । जस्तै :

त्यही तल दुविचौर खेलन जाउसँगी नाचन जाउ

आउ मेरा सँगी हो खेलन जाउ

(दुविचौर गुल्मी जिल्लाको एक गाउँ हो ।)

यसरी पाकाहरुले गाउने गीतहरुमा अश्लीलता नपाइने भएकाले त्यसमा के महिला के पुरुष, के केटाकेटी, के बुढाबुढी सबै सहभागी हुने गर्छन् । हुनत गीत गाउने बुढाहरु भएपनि बाजा बजाउने, रंग खेल्ने र नाच्नेमा अधिकांश युवाहरु नै रहने गर्छन् । फागुका दिनहरुमा नाचगान गरी धुलो उडाउनुपर्छ भन्ने मान्यता अनुरुप चतुर्दशीको दिनलाई धुलो उडाउने दिन भनिन्छ । रंगको प्रयोग त गरिन्छ तर अत्यन्त कम । लोला र हिलो तथा कुहेका अण्डाले हान्ने विकृतीले यहाँ छुन सकेको छैन । फागु अर्थात फाउमा  अलिकति अश्लीलता पाइए पनि त्यहाँ सौहार्दता प्रचुर हुन्छ । जीवन्तता पाइन्छ, सबैको सहभागिता र सम्मति पाइन्छ ।

हामीले हाम्रो सँस्कृतिलाई माया गर्छौं त्यसैले त ज्यानै फालेर पर्व मनाउन अघि सर्छौं । तर पर्व मनाउनुले मात्र सँस्कृतिको माया गरेको ठहरिदैन, यसलाई कुन रुपमा मनाइयो भन्ने कुरा प्रमुख ठहर्छ ।

होलीमा रंग खेल्ने सस्कृति आफैंमा उमंग र हर्षोल्लासको क्षण हो । वर्ष भरीका पीडा, द्वेष, रिसराग र उचनिचका भावनालाई बिर्सिएर विजयको प्रतीकस्वरुप अविरको पर्व मनाउनु महत्वपूर्ण विषय हो । तर जोसमा होस नआउने हाम्रो नानीमा लागेको बानीले हामीलाई हानी पुराउनेप्रति सजग हुनु आवश्यक छ ।

विभिन्न रंगहरु, गाडिको तेलको कालो, अलकत्रा, कुहेका अण्डा, तरकारी, फोहोर पानी लगायतका पदार्थहरुले मानव स्वास्थ्यलाई गम्भिर असर पुराउनेतर्फ सहरमा होली खेल्नेहरु सचेत हुनैपर्छ । उमंगको नाममा आफ्नै स्वास्थ्यलाई जोखिममा पार्ने काम गर्नु किमार्थ उचित हुन सक्दैन । हामी मनको मैलो र द्वेष मेटाउन भन्दै रंगको पर्व मनाउदै गर्दा कतै स्वास्थ्यमा मैलो थपिने त होइन त्यसतर्फ बेलैमा सोच्नु आवश्यक छ । रिसराग र वैरभाव मेट्नको लागि मनाइने होलीले कतै विवाद, तनाव र वैरभाव थप्ने त होइन विचार पुराउनुपर्छ ।

रंग र पानी छ्याप्ने निहुमा विनासित्तीमा बटुवालाई दुःख दिने र यही कारणले विभिन्न पक्षबीच झडप र विवाद उत्पन्न हुने घटनालाई रोक्न सकिएन भने होलीको सुन्दर पक्ष नै विलय हुन जान्छ । केवल उच्छृंखलता र मजाकको रुपमा पर्व मनाउनुको अर्थ पनि रहँदैन । यसले हाम्रो संस्कारको जगेर्ना होइन, मानवीय भावना र सम्वेदनामाथि नै उपहास हुन जान्छ ।

हामीले हाम्रो सँस्कृतिलाई माया गर्छौं त्यसैले त ज्यानै फालेर पर्व मनाउन अघि सर्छौं । तर पर्व मनाउनुले मात्र सँस्कृतिको माया गरेको ठहरिदैन, यसलाई कुन रुपमा मनाइयो भन्ने कुरा प्रमुख ठहर्छ । होलीको सामाजिक, साँस्कृतिक तथा पौराणिक महत्वलाई जीवित राख्दै नयाँ युग सुहाउँदो गरी पर्व मनाउन सकियो भने मात्रै पुस्तौंपुस्तासम्म हाम्रा सुसँस्कृतिहरु हस्तान्तरित हुँदै जान्छन् । पर्व र सस्कृतिको नाममा विकृतिलाई प्रश्रय दिन थाल्ने हो  आगामी पुस्ताका लागि हाम्रा सँस्कृतिहरु वितृष्णाका सूचक बन्न सक्ने खतराप्रति नजरअन्दाज गर्नु हुँदैन ।

होलीको नाममा लोला र फोहोर पानीले हान्ने र मनोमानी गर्ने सहरी सँस्कृतिले बिगार्न लागेको हाम्रो सँस्कृतिको विचमा गुल्मी, अर्घाखाँचीतिरको  फागु सँस्कृति उदाहरणीय बन्न सक्छ । सबैतिर यस्तै सौहार्दता हुने हो भने हाम्रा सँस्कारहरु जीवन्त रहने थिए कि !

साभार : अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे