LISTEN LIVE RADIO

नेपालमा लकडाउन भएको आज ठिक एक वर्ष पुरा : कोरोना सङ्क्रमणको जोखिम पुरानै अवस्थामा



नेपालमा लकडाउन भएको आज ठिक एक वर्ष पुरा : कोरोना सङ्क्रमणको जोखिम पुरानै अवस्थामा

काठमाण्डाै ११ चैत्र । कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको आज ठिक एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिना सम्म लकडाउन भयो ।

अन्य देशमा लकडाउनलाई खुकुलो बनाए संँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारत सहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ ।

कोरोनाको जोखिम फेरि बढेको छ ।  लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ ।  कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ  । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले बताए ।

भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् । घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।  सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ । भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सतर्कता नअपनाए भारतमा जस्तै नेपालमा सङ्क्रमण फैलिन सक्ने बताए । जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले  जोखिम थप बढेको उनले बताए ।

पोहोर भारतका सीमा क्षेत्रमा कडाइ नगर्दा नेपालमा सङ्क्रमण फलिएको थियो । अब पनि त्यस्तै अवस्थाको डर भएकाले अनिवार्य मास्क लगाउन र स्यानिटाइजरको प्रयोगमा डाक्टर जोड दिँदै आएका छन् । सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने तयारी गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन र क्वरेण्टीनलाई तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे