LISTEN LIVE RADIO

भालुवाङ महोत्सवमा गायक कुलेन्द्र, सिता र विशाखाले मञ्च तताए, भाेली ज्योती मगर आउँदै



भालुवाङ २६ फागुन । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शुक्रवार आठौं दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गरिएको छ । दिउँसो गर्मीका कारण दर्शकको भिड साँझ मात्र हुँदै आएकाले आज बेलुकाको समयमा पछिल्लो समयका चर्चित लोकदोहारी गायक कुलेन्द्र विश्वकर्मा, सिता राना मगर र विशाखा शाहीले दर्शकलाई नचाएका छन् । कुलेन्द्रले महोत्सव हेर्न आएका दर्शकलाई उपहारस्वरूप आफ्ना गित सुनाउँदै दर्शकलाई नचाएका हुन् ।

कुलेन्द्रले २०७५ सालमा चर्चामा रहेको लोकगीत सालको पात टपरी हुने हे बरै नहुने सल्लैको, बाटो छेकेर, जिम्बाल बाउको छोरी, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेंरीमा सहित आफ्ना एक दर्जन भन्दा बढी बहुचर्चित गीत गाउँदा महोत्सव स्थलमा दर्शक नाचेका थिए । सालको पात टपरी हुने हे बरै नहुने सल्लैको बोलको गीतलाई दर्शकबाट पटक–पटक वान्स मोर आउँदा कुलेन्द्रले गीत दोहोर्याएर नगाई सुख्खै पाएनन् । फागुन महिनाको गर्मीयाममा कुलेन्द्रले गाएको गीतमा नाचेर पसिना चुहाएका दर्शकले उक्त गीत २ पटक दोहोर्याएर गाउन लगाएका थिए । उनले गाएको गीतमा साथ दिँदै अतिथि समेत छमछमी नाचेका थिए । त्यस्तै महोत्सवमा चर्चित लोक दोहोरी गायिका सिता राना मगर, विशाखा शाही, टप शोनी डान्स ग्रुप र एलिसा डान्स ग्रुपले दर्शकहरुलाई छमछमी नचाएका थिए । भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यसैगरी भोली फागुन २७ गते चर्चित लोक दोहोरी गायिका ज्योती मगर, चर्चित लोक दोहोरी गायक चन्द्र शर्मा, डान्सर सगुन थापा आउन लागेको मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । त्यसै गरि गायक तथा कार्यक्रम उद्घोषक अनुप बुढा, डान्सर तथा कार्यक्रम उद्घोषक दिपक बर्मा, टप डान्स ग्रुप र एलिसा डान्स ग्रुपले मञ्च तताउने मेला व्यवस्थापक शर्माले जानकारी दिएका छन् ।
महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत रहेको संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे