LISTEN LIVE RADIO

भालुवाङ महोत्सवको मुख्य आकर्षण राप्ती नदीमा बोटिङ



भालुवाङ २६ फागुन । भालुवाङ महोत्सवलाई थप आकर्षित गर्न राप्ती नदीमा बोटिङको व्यवस्था गरिएको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सञ्चालन गरिएको छ । बाह्रकुने दह बाह्र क्षेत्र समिति घोराही १३ ले राप्ती नदीमा मोटरबोट चलाएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी घुम्न आउने तथा हाल सञ्चालित महोत्सव हेर्न आउनेलाई आकर्षित गर्न राप्ती नदीमा मोटरबोट सञ्चालन गरेको आयोजकले जानकारी दिएको छ ।

एक लटमा ९ जना यात्रु लिएर १ किलोमिटरको दुरिमा मोटरबोट सयर गराउने गरिएको चालक रणबहादुर विकले जानकारी दिएका छन् । मोटरबोट चढ्नका लागि १ सय रूपैयाँ टिकट रहेको बताइएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् ।

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत रहेको संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे