LISTEN LIVE RADIO

बालुवाटारमा मध्यरातसम्म छलफल, जनकपुरमा अल्झियो भागबन्डा



बालुवाटारमा मध्यरातसम्म छलफल, जनकपुरमा अल्झियो भागबन्डा

काठमाण्डौ ७ बैशाख । जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । ६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन ।

गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो ।  ११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ ।

यस्तै घोराही र जितपुर–सिमरामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ । हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ ।

६ वटा महानगरमा भने सहमति भैसकेको छ । सहमति अनुसार काठमाण्डौमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादी, ललितपुरमा मेयर कांग्रेस र उपमेयर माओवादी, विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपाबाट उम्मेदवार बन्नेछन् ।

यस्तै भरतपुरको मेयरमा माओवादी र उपमेयरमा काँग्रेस, पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस तथा वीरगंजको मेयरमा जसपा र उपमेयरमा कांग्रेसबाट उम्मेदवार हुनेछन् । भरतपुर, पोखरा र वीरगञ्जमा अरु दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे