LISTEN LIVE RADIO

गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)



गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)

काठमाडौं ७ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा कुन पार्टीले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाएको हो ।

सहमतिपत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसले तीन वटा महानगरपालिका र सात वटा उपमहानगरपालिका, माओवादीले एउटा महानगर र दुई वटा उपमहानगरपालिका, एकीकृत समाजवादीले एउटा महानगरपालिका र एउटा उपमहानगरपालिका तथा जसपाले पनि एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकामा उम्मेदवारी दिनेछन् ।

सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने छ । यस्तै माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयरमा उम्मेदवारी दिनेछन् । महानगरको उपमेयरमा कांग्रेसले वीरजञ्ज, भरतपुर र पोखरामा उम्मेदवारी दिनेछ भने माओवादीले ललितपुर, एकीकृत समाजवादीले काठमाण्डौ र जनता समाजवादी पार्टीले विराटनगरमा उम्मेदवारी दिनेछ ।

उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पदमा उम्मेदवारी दिनेछ । यस्तै जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिमा मेयर पदमा उम्मेदवारी दिनेछ भने धरान र धनगढीमा उपमेयरमा उम्मेदवारी दिनेछ ।

एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटबल र तुलसीपुरमा उपमेयरमा उम्मेदवारी दिनेछ । जसपाले जनकपुर उपमहानगरपालिकामा मेयर र कलैया र नेपालगञ्जमा उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे