गृहमन्त्री सुधनले खाएको अम्लेटमा माछाको काँडा भेटियाे : होटललाई ३ लाख जरिवाना
काठमाडौं ९ असार । गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएपछि भरतपुरस्थित एक होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ लाई नगद जरिवानासहित कारबाही गरेको हो । प्राप्त जनगुनासोका आधारमा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको निरीक्षण टोलीले उक्त होटलमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटलले गुणस्तरहीन खानेतेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको फेला परेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । गृहमन्त्री सुधन गुरुङले आज बिहानमात्रै उक्त होटलमा खाजा खानका लागि गएका थिए । सो क्रममा उनले खाएको अम्लेटमा माछाको काँडा भेटिएको थियो ।
होटलको यो लापरबाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) विपरीतको कसुर ठहरिएको प्रशासनले जनाएको छ । सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयानुसार होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको हो । कारबाहीका साथै अनुगमन टोलीले होटलबाट बरामद गरेका सम्पूर्ण अखाद्य सामग्रीहरू समेत तत्काल नष्ट गरेको प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिएका छन् । यही होटलबाट मंगलबार गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
