सामाजिक सञ्जालमा फैलाइएको आरोप प्रति निलसागरको ध्यानाकर्षण : भ्रममा नपर्न अपिल
सिसहनियाँ २१ साउन । नीलसागर सेवा आश्रम, राप्ती गाउँपालिका–८ कोहलुवामा आश्रित व्यक्तिहरूलाई बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएका सामग्री प्रति नीलसागर सेवा आश्रम, दाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आश्रमले बिहीबार आश्रमकै पेजबाट मार्फत ध्यानाकर्षण गराएको छ । केही व्यक्तिले एकपक्षीय रूपमा संस्थामाथि आरोप लगाउँदै सामाजिक सञ्जाल मार्फत भ्रम फैलाउने प्रयास गरेको उल्लेख गर्दै वास्तविकता फरक रहेको आश्रमले जनाएको छ। आश्रमका अध्यक्ष गरिवु चाैधरीका अनुसार मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको हेरचाह अत्यन्त संवेदनशील र चुनौतीपूर्ण कार्य हो। आश्रममा रहेका सडकआश्रित तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरू कहिलेकाहीँ आफैं निस्केर हिँड्ने वा भाग्ने अवस्था सिर्जना हुने गरेको र यस्तो चुनौती केवल नीलसागर सेवा आश्रममा मात्र नभई अन्य पुनर्स्थापना केन्द्रहरूमा समेत देखिने गरेको जनाएको छ। आश्रमले त्यस्ता व्यक्तिहरूलाई सुरक्षित रूपमा पुनः आश्रममा ल्याउन परिवार, स्थानीय सरकार, प्रहरी, समुदाय तथा सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गरेको छ। कुनै एक घटनालाई आधार बनाएर संस्थाको उद्देश्य र सेवामाथि गलत निष्कर्ष निकाल्नु उचित नहुने आश्रमको भनाइ छ। यदि कसैसँग कुनै ठोस जानकारी, सुझाव वा गुनासो भए सामाजिक सञ्जालमा भ्रम फैलाउनुको सट्टा सम्बन्धित निकाय वा आश्रमलाई प्रत्यक्ष जानकारी गराउन आग्रह गरिएको छ। आवश्यक सुधार र सहकार्यका लागि संस्था सधैं तयार रहेको पनि स्पष्ट पारिएको छ।
आश्रमले आफ्नो उद्देश्य असहाय तथा मानसिक स्वास्थ्य समस्यामा रहेका व्यक्तिहरूलाई सुरक्षित आश्रय, उपचार र मानवीय सेवा उपलब्ध गराउनु रहेको दोहोर्याउँदै दाम्लोले बाँधिएका गाई–भैंसी समेत कहिलेकाहीँ फुत्केर भाग्न सक्ने अवस्थामा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिबाट अप्रत्याशित घटना हुनु अस्वाभाविक नभएको उल्लेख गरेको छ। यस्ता घटना हुन नदिन संस्था दिनरात प्रयासरत रहे पनि जोखिमलाई पूर्ण रूपमा शून्यमा झार्न सधैं सम्भव नहुने जनाएको छ। घटना भएमा त्यसको जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, सुधारका उपाय अपनाउने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यलाई प्राथमिकतामा राखिएको आश्रमको भनाइ छ। प्रमाणबिना सामाजिक सञ्जालमा संस्था तथा सेवामा खटिएका कर्मचारीहरूको चरित्रहत्या गर्नु समाधान नभएको पनि स्पष्ट गरिएको छ। आश्रमले मानसिक रोगीहरू समाजको बोझ नभई आफ्नै दाजुभाइ, दिदीबहिनी तथा बुबाआमा भएको उल्लेख गर्दै उनीहरूको सेवा गर्नु मानवताको उच्चतम धर्म भएको जनाएको छ। साथै, सहयोग गर्न सकिनेले सहयोग गर्न र नसके कम्तीमा सेवा गर्नेहरूको मनोबल नतोड्न तथा आलोचना भन्दा रचनात्मक सुझाव दिन सबैमा अपिल गरेको छ।
