घर छेउमै विशेषज्ञ डाक्टर, शिविरमा आएका बिरामीहरू खुसी : ३ सय १९ जनाले लिए सेवा
सिसहनियाँ २२ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार बिहानैदेखि बिरामीको चहलपहल थियो।
नियमित उपचारका लागि मात्र नभई विभिन्न जटिल स्वास्थ्य समस्या लिएर आएका स्थानीयहरू विशेषज्ञ डाक्टरको परामर्श पाउने आशामा अस्पताल पुगेका थिए। अस्पताल परिसरमा देखिएको यो भीड पहाडी क्षेत्र देखि तराई क्षेत्रका नागरिकहरूको उपस्थितिले विशेषज्ञ स्वास्थ्य सेवाको आवश्यकता कति गहिरो छ भन्ने एउटा उदाहरण जस्तै थियो। विशेषज्ञ डाक्टरसँग स्वास्थ्य परीक्षण गराउन बुटवल, नेपालगन्ज पुग्नुपर्ने बाध्यताबीच गाउँमै विभिन्न विधाका डाक्टर उपलब्ध भएपछि स्थानीयका लागि शुक्रबारको दिन केही फरक बन्यो। राप्ती गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श, बुटवलको प्राविधिक सहयोगमा आयोजित निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ सय १९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा सेवा लिनेमा २ सय २३ महिला र ९६ पुरुष रहेका थिए। स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, विभिन्न प्रकारका परीक्षण निशुल्क गरिएपछि आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका नागरिकका लागि शिविर थप उपयोगी बनेको थियो। हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मिर्गौला तथा पिसाब सम्बन्धी समस्या र अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञ डाक्टरसँग प्रत्यक्ष परामर्श गर्ने अवसर पाए। कतिपय बिरामीले लामो समयदेखि झेल्दै आएको स्वास्थ्य समस्याबारे पहिलोपटक विशेषज्ञ डाक्टरसँग विस्तृत रूपमा कुरा गर्न पाए भने कतिपयले थप उपचारका लागि आवश्यक सुझाव प्राप्त गरे।
शिविरमा ६८ जनाले भिडियो एक्सरे, ६४ जनाले एक्सरे र ७२ जनाले प्रयोगशाला सेवा लिए। बिरामीको स्वास्थ्य अवस्था पहिचान गर्न आवश्यकता अनुसार परीक्षण गरिनुका गरिएको अस्पतालले जनाएको छ। गाउँमा सामान्य स्वास्थ्य सेवा उपलब्ध भए पनि विशेषज्ञ सेवा लिनुपर्ने अवस्थामा अझै पनि धेरै नागरिकले घोराही, तुलसीपुर, बुटवल, नेपालगन्ज लगायतका शहर धाउनुपर्ने अवस्था छ। यातायात खर्च, समय र उपचारको अतिरिक्त आर्थिक भारका कारण कतिपयले स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारमा ढिलाइ गर्ने गरेका छन्। यस्तो अवस्थामा गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन हुनु स्थानीयका लागि उपचारमा पहुँच बढाउने महत्वपूर्ण माध्यम बनेको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनका अनुसार विशेषगरी हाडजोर्नी, नशा, मिर्गौला तथा पिसाबसम्बन्धी समस्या भएका बिरामीका लागि विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिन शिविरले सहज वातावरण बनाएको छ। आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने उनले बताए । “विशेषज्ञ सेवा लिन शहर जानुपर्ने बाध्यतालाई केही हदसम्म कम गर्ने र गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्य हो,” अध्यक्ष विष्टले भने । शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डा. नवीन श्रेष्ठ, युरोसर्जन डा. सगुन थापा, रेडियोलोजिस्ट डा. तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डा. बिमेश शाक्यले बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श गरेका थिए ।
