राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम पारित : असार १० गते बजेट प्रस्तुत गरिदै
भालुवाङ ९ असार । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गत असार ५ गते दोस्रो गाउँसभाको नवौं अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मंगलबार बसेको गाउँसभाको बैठकमा सैद्धान्तिक छलफलपछि बहुमतले पारित भएको हो। पारित नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास, सुशासन, सामाजिक विकास तथा आर्थिक समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ। साथै नागरिकमैत्री सेवा प्रवाह, उत्पादन तथा उत्पादकत्व वृद्धि, उद्यमशीलता विकास तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत समृद्ध राप्ती निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभाको शून्य समयमा सभा सदस्यहरूले जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विविध विषय उठान गर्दै सुझाव तथा जिज्ञासाहरू राखेका थिए। सभा सदस्यहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै गाउँसभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रम जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर तयार गरिएको बताए। उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरे। नीति तथा कार्यक्रम पारित भएसँगै गाउँपालिकाले बुधबार बस्ने बैठक मार्फत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढाएको छ।
