सरूमारानीको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि, राेजगारी, पूर्वाधार, खानेपानी र शिक्षा प्राथमिकतामा (पूर्णपाठ सहित)



सरूमारानीको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि, राेजगारी, पूर्वाधार, खानेपानी र शिक्षा प्राथमिकतामा (पूर्णपाठ सहित)

देउखुरी १० असार । प्यूठानकाे सरूमारानी गाउँपालिकाले आज मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।

दाेस्राे गाउँसभाकाे १९ औँ अधिवेशनमा आर्थिक बर्ष २०८३/०८४ नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे हाे । पालिकाका अध्यक्ष झगबहादुर बिकले करिब २० पृष्ठ लामाे रहेकाे उक्त निति तथा कार्यक्रममा कृषि, राेजगारी, पूर्वाधार, खानेपानी र शिक्षालाई प्रमुख प्राथमिकता राखेकाे छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बिकले कृषि क्षेत्रमा रहेका श्रमशक्तिको अभावलाइ सम्बोधन गर्दै आवश्यक ज्ञान, सिप, प्रविधि र लगानीको वातावरण सिर्जना गरी कृषि यन्त्रीकरणमा विशेष जोड दिएकाे छ । त्यस्तै बीउ उत्पादन, र बाली संरक्षण सेवालाई प्रावकारी रुपमा अगाडी बढाउने, बिगतका कार्यक्रमलाई निरन्तरता दिई उत्पादन, उत्पादकत्व तथा स्थानीय सम्भावनाका आधारमा महसँगै कोदो, फापर, गहत लगायतका स्थानीय तथा रैथाने बालीको उत्पादनमा प्रोत्साहनमुखी अनुदान व्यवस्था गरिने नीति लिएकाे छ । साथै उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गरी उत्कृष्ट उत्पादन, नवप्रवर्तन, व्यवसायिक कृषि तथा कृषि उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्ने नीति सरूमारानीले लिएकाे छ ।

यस्तै राेजगारी तर्फ सरूमारानीले बेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन तथा विश्लेषण गरी रोजगार सुचना व्यवस्थापन प्रणालीमा बेरोजगारको सूची अध्यावधिक र व्यवस्थित गर्ने, पालिकाभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको कार्यलाई पालिकाको रोजगार सेवा केन्द्रबाट सहजीकरण गरिनेछ र वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तथा अनावश्यक ठगी हुनबाट बच्नका लागि सचेतनाका कार्यक्रम गरिनेछ, जसबाट बैदेशिक रोजगारीमा गएका युवाहरुको आप्रवसन अवस्था सुरक्षित हुन मद्धत पुग्ने नीति लिएकाे छ ।

पूर्वाधार तर्फ सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिका वासीको समृद्धिको चाहना पुरा गर्ने दिशामा हामीले आगामी आ. व. २०८३/८४ को बार्षिक नीति तथा कार्यक्रमलाई अभिमुख गर्ने, त्यसका लागि दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, विपद्, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकासमा जोड दिएकाे छ ।

यस्तै प्रस्तुति नीति तथा कार्यक्रममा खानेपानी तर्फ खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी भएका तथ्यांकहरुलाई अध्यावधिक गरी खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी योजना (वास योजना) लाई अध्यावधिक गर्ने, मुहानदेखि मुखसम्म सुरक्षित खानेपानीको सुनिश्चतताका लागि खानेपानी शुद्धता परीक्षण कार्यलाई अगाडी बढाई मुहान, ट्याङ्की तथा धाराको पानी शुद्धता जाँच गरिनेछ। खानेपानीहरुको मुहान दर्ता र उपभोक्ता समितिलाई दर्ता गर्ने कार्य सुरुवात गर्ने उल्लेख गरेकाे छ । त्यस्तै शिक्षा तर्फ सबै माध्यमिक विद्यालयमा डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत आगामी बर्ष देखि विशेष गरी डिजिटल शैक्षिक सामग्रीको प्रयोग, डिजिटल बाेर्ड मार्फत शिक्षण विधि र अनलाइन शिक्षण प्रविधिमा जोड दिने नीति समेत लिएकाे छ ।

अध्यक्ष बिकले प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, राेजगारी, पूर्वाधार, खानेपानी र शिक्षाकाे कार्यक्रम माध्यमबाट समृद्ध सरूमारानी निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । उनले विकास र समृद्धिको यात्रामा सम्पूर्ण सरूमारानीवासीलाई सहकार्य र सहभागिताका लागि आह्वान समेत गरेका छन् ।

पूर्णपाठ

नीति तथा कार्यक्रम २०८३ -final

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे