बाल विवाह जस्ता घटनाहरू रोकथाम गर्न सचेतना आवश्यक रहेकाे सहभागीहरुकाे जाेड



बाल विवाह जस्ता घटनाहरू रोकथाम गर्न सचेतना आवश्यक रहेकाे सहभागीहरुकाे जाेड

भालुवाङ ७ असार ।  ओमन एक्टको आयोजना एवम् प्लान इन्टरनेशनलको सहयोगमा आइतबार राप्ती गाउँपालिका-१ भालुवाङमा लैंगिक मान्यता तथा बाल विवाह, कम उमेरमा हुने विवाह र जवरजस्ती हुने विवाह सम्बन्धि प्रदेश स्तरीय बहुसरोकारवाला सँग संवाद कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा सहभागीहरूले बाल विवाह, कम उमेरमा हुने विवाह तथा जबरजस्ती हुने विवाह रोकथामका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नहुने भएकाले समाजमा चेतना अभिवृद्धि, सोच परिवर्तन र सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । उनीहरूले बाल विवाह अझै पनि समाजमा चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि परिवार, समुदाय, विद्यालय, स्थानीय सरकार तथा राज्यका सबै निकायले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

ओमन एक्टका कार्यकारी अध्यक्ष सिर्जना अधिकारीको अध्यक्षता एवम्  सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाेल्दै मन्त्री तिमिल्सिनाले बाल विवाह र लैंगिक विभेद जस्ता सामाजिक कुरीतिहरूको अन्त्यका लागि सबैभन्दा पहिला मानिसको सोच र व्यवहार परिवर्तन हुनुपर्ने बताएका छन् । मन्त्री तिमिल्सिनाले भने, “कानुनले मात्रै समाज परिवर्तन गर्न सक्दैन, समाजका मानिसहरू मानसिक रूपमा परिवर्तन हुन आवश्यक छ । छोरी र छोरालाई समान अवसर प्रदान गर्दै शिक्षा, चेतना र सशक्तीकरणमार्फत मात्रै बाल विवाह जस्ता समस्या समाधान गर्न सकिन्छ ।” मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरकिशोरीहरूको अधिकार संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै समुदायस्तरमा अझ प्रभावकारी रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा  शिवराज नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख जिवा केसी, विजयनगर गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रेणु पाण्डे, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली, दुर्गाभवानी आधारभूत विद्यालयका प्रअ केशवराज आचार्य, पत्रकार सन्तोष कुमार गुप्ता लगायत अन्य सहभागीहरूले आ-आफ्नो सुझाव सहितको भनाई राखेका थिए । कार्यक्रममा प्रस्तुतिकरण  मिनाक्षी न्याैपानेले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन  परियोजना संयोजक सरस्वती कुमारी दनुवारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे