भालुवाङबाट ब्राउन सुगर सहित कपिलवस्तुका साकिर खान पक्राउ
भालुवाङ २४ जेठ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते दिउँसो करिब ३ः३० बजेको समयमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा भालुवाङ स्थित सडक खण्डमा निगरानी गरेको थियो। सो क्रममा शंकास्पद रूपमा हिँडिरहेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ पर्चिया निवासी ४२ वर्षीय साकिर खानलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट ८ ग्राम २२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
बरामद गरिएको पदार्थ सहित पक्राउ परेका खान विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले दाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी र कारबाही जारी रहने जनाएको छ।
