भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा जोड
दाङ २२ जेठ । भारत–नेपाल आर्थिक सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले भारतको गोरखपुरस्थित होटल रेडिसन ब्लुमा आयोजित “भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६” मा सहभागी उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले पर्यटन, व्यापार, लगानी र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेका छन्।
कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्रमा लगानी विस्तार, व्यापार सहजीकरण तथा रेल तथा सडक कनेक्टिभिटी विस्तारमार्फत नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिइएको थियो। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले नेपाल र भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि र पर्यटन विकाससँग जोड्न आवश्यक रहेको बताए। खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धले दुई देशबीच सहकार्यका प्रशस्त अवसर सिर्जना गरेको उनको भनाइ थियो।
अध्यक्ष पोखरेलले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विमानस्थलहरूको प्रभावकारी सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको पोखरेलको धारणा थियो। लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किट निर्माण गर्न सके दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य विकास गर्न सकिने उनले बताए।
पोखरेलले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल भुक्तानी, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेद प्रवर्द्धनका विषय उठाउँदै सुरक्षा चुनौती न्यूनीकरण र भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए। साथै, भैरहवा विशेष आर्थिक क्षेत्रमा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।
उनले सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन तथा निर्यात प्रवर्द्धनका कार्यक्रम विस्तार गर्नुपर्ने धारणा समेत राखे। भारतको गोरखपुरमा पीएचडी उद्योग तथा वाणिज्य मण्डल र भारतीय दूतावासको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपाल–भारत आर्थिक सम्बन्धलाई थप मजबुत र दिगो बनाउने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले निजी क्षेत्रको सक्रिय भूमिकामार्फत दुई देशबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा भारत–नेपाल केन्द्रका अध्यक्ष अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य दिएका थिए भने केन्द्रका सह–अध्यक्ष कमलेश जैनले स्वागत मन्तव्य राखेका थिए।
भारतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका कृष्णप्रसाद शर्मा लगायतले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरणमा जोड दिएका थिए। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
