प्रविधिको विकास र अस्पष्ट नीति निर्माणले पत्रकारिता क्षेत्रमा जटिलता थपिदै गएको छ : झाँ



प्रविधिको विकास र अस्पष्ट नीति निर्माणले पत्रकारिता क्षेत्रमा जटिलता थपिदै गएको छ : झाँ

भालुवाङ २४ जेठ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाँले प्रविधिको विकास र अस्पष्ट नीति निर्माणका कारण पत्रकारिता क्षेत्रमा जटिलता थपिदै गएको बताएका छन् ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा आइतबार देखि सितगंगा नगरपालिका-८ सातमारा अर्घाखाँचीमा सुरू भएको ३ दिने क्षमता विकास कार्यक्रममा बोल्दै झाँले सो कुरा बताएका हुन् । उनले जति जति प्रविधिको द्रुत गतिमा विकास भइरहेको छ र त्यसको व्यवस्थापन गर्न नसकिदा त्यसले झन पत्रकारितामा जटिलता थपिदै गएको बताए । त्यस्तै उनले नीति निर्माण गर्ने निकाय र पत्रकारिता क्षेत्रबीच पर्याप्त समन्वय तथा समझदारीको अभाव देखिएको छ। “नीति निर्माण पक्ष र पत्रकारिता क्षेत्रबीच कतिपय विषयमा स्पष्टता आवश्यक छ। दुवै पक्षबीच संवाद र सहकार्य बढाउन सकिए मात्रै स्वस्थ र उत्तरदायी सञ्चार वातावरण निर्माण गर्न सकिन्छ,” उनले भने ।

मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सचिव अर्यालले चालू आर्थिक वर्षका कार्यक्रमहरू पत्रकार महासंघ सँग सहकार्य गरेर नीति र विधि भित्र रहेर कार्यान्वयन गर्ने बताइन् । साथै उनले प्रदेश सरकारले सञ्चार क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको बताइन् । उनले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रमहरू नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नीति, विधि र कानुनी प्रक्रियाभित्र रहेर कार्यान्वयन गरिने जानकारी दिइन् । सचिव अर्यालले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार स्तम्भ भएकाले पत्रकारहरूको क्षमता विकास, पेशागत दक्षता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । उनले आगामी आर्थिक वर्षमा पनि नेपाल पत्रकार महासंघसँग सहकार्यलाई निरन्तरता दिँदै थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशराज आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मन्त्रालयकम शाखा अधिकृत भुपबहादुर मल्लले गरेका थिए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्य, १२ वटै जिल्लाका अध्यक्ष र सचिव, सल्लाहकार गरि ४० जना पत्रकारको सहभागीता रहेको कार्यक्रमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाँ र आइटी प्राविधिक किरण काैशल, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाई र उपाध्यक्ष रामप्रसाद आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे