मासुमा किरा भेटिएको घटनाप्रति राप्ती उवा संघको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङ स्थित ॐ सम्पूर्ण पोल्ट्री फर्मबाट उपभोक्ताले खरिद गरेको कुखुराको मासुमा किरा भेटिएको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति राप्ती उद्योग वाणिज्य संघ भालुवाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा भएको कथित लापरवाही प्रति दुख व्यक्त गरेको छ। खाद्य वस्तुको गुणस्तर र सुरक्षामा विशेष ध्यान दिनुपर्ने अवस्थामा यस्तो घटना सार्वजनिक हुनु चिन्ताको विषय भएको संघको भनाइ छ।
संघले माछा, मासु लगायत अन्य खाद्यान्न बिक्री–वितरण गर्ने सम्पूर्ण व्यवसायीलाई उपभोक्ताको स्वस्थ र गुणस्तरीय खाद्यान्न उपभोग गर्ने अधिकार सुनिश्चित गर्न तथा स्वच्छ, सुरक्षित र भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा सम्बन्धित सरकारी निकायलाई घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा आवश्यक कानुनी कारबाही अघि बढाउन अनुरोध गरिएको छ। साथै छानबिन प्रक्रियामा राप्ती उद्योग वाणिज्य संघको पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाइएको छ। संघले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
राप्ती गाउँपालिका–१ भालुवाङ निवासी राधा चन्दले फर्मबाट खरिद गरेको मासुमा किरा भेटिए पछि त्यसको केही सञ्चार माध्यम तथा सामाजिक सञ्जाल भाइरल भएको छ । साथै उक्त घटना ढाकछोप गर्न फर्म सञ्चालक बसन्त खनालले नगद १० हजार रुपैयाँ तथ्य समेत बाहिर आएको छ । लमही नगरपालिका–१ निवासी खनाल हाल भालुवाङमा उक्त पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आएका छन्। यस्तै घटनाबारे सम्बन्धित निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्न स्थानीयवासीले समेत माग गरेका छन्।
