ऐरावती क्याम्पसमा ३ दिने प्राध्यापक पेशागत क्षमता अभिवृद्धि तालिम सुरु
भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको आयोजनामा प्राध्यापकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने प्राध्यापक पेशागत क्षमता अभिवृद्धि तालिम शनिवार देखि सुरु भएको छ ।
अनुसन्धान व्यवस्थापन एकाइका संयोजक चन्द्रप्रकाश वलीको अध्यक्षतामा एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष विलोचन चौधरी प्रमुख आतिथ्यतमा कार्यक्रमको उद्घाटन गरिएको हो । तीन दिन सम्म सञ्चालन हुने तालिममा पेशागत सीप विकास, अनुसन्धानात्मक लेखन, नवप्रवर्तन, सूचना प्रविधि तथा प्रकाशकीय लेखन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सहभागीहरूको ज्ञान, सीप र पेशागत दक्षता अभिवृद्धि गर्दै शिक्षण तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित तालिम सञ्चालन गरिएको क्याम्पसले बताएको छ ।
कार्यक्रममा विपी आधारभूत विद्यालयका प्रधानाध्यापक जिवराज शर्मा, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष डिलाराम पौडेल, क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा आयोजक क्याम्पस र दाङ जिल्लाका विभिन्न क्याम्पसका ३० जना प्राध्यापकहरुको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकहरुमा सहप्राध्यापकद्वय डा. विष्णुप्रसाद पोख्रेल र लोकराज रेग्मी, उपप्राध्यापक खगेन्द्र घोडासैनी, डा. जिवराज आचार्य, सन्दीप पौडेल तथा डा. मोना केसी लगायत प्रशिक्षकका रूपमा रहेका छन् । अनुसन्धान व्यवस्थापन एकाइ सदस्य रामकृष्ण पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक प्राध्यापक तथा सूचना अधिकारी चुडामणी खत्रीले गरेका थिए ।
