४८ ग्राम भन्दा बढी ब्राउन सुगर सहित लमहीका दुई युवक पक्राउ, प्रहरीको अपरेसन सफल
दाङ ४ साउन । दाङमा प्रहरीले ४८ ग्राम भन्दा बढी ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ४८ ग्रामभन्दा बढी ब्राउन सुगर सहित ती दुई युवकहरूलाई पक्राउ गरेको हो ।
दाङ जिल्लामा लामो समयदेखि ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको समूहबारे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले सूचनाको विश्लेषण गरी बा १७ च १४२२ नम्बरको निजी कारलाई लक्षित गरेर विशेष अपरेसन सञ्चालन गरेको थियो। अपरेसनका क्रममा उक्त सवारी साधनलाई रोकी खानतलासी गर्दा ४८ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागुऔषध सहित कार र त्यसमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ निवासी ३७ वर्षीय सुदन पुलामी र लमही नगरपालिका–३ निवासी २६ वर्षीय निश्चल केसी रहेका छन्।
प्रहरीले बरामद भएको लागुऔषध, प्रयोग गरिएको सवारी साधन तथा पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँके पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।
