नेपाल राष्ट्रिय माविका शिक्षक र विद्यार्थीहरूको निशुल्क दन्त, मधुमेह तथा प्रेसर जाँच
भालुवाङ २३ जेठ । स्माइल डेन्टल क्लिनिक भालुवाङको आयोजनामा राप्ती गाउँपालिका-१ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निशुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट विद्यार्थी, शिक्षक–शिक्षिका गरी करिब ५०० जना लाभान्वित भएका छन् ।
शिविरमा डेन्टल सर्जन डा. किर्ती आचार्यले दाँत तथा मुख स्वास्थ्य परीक्षण, दन्त रोग सम्बन्धी परामर्श तथा आवश्यक उपचारका सुझाव प्रदान गरेकी थिइन् । दाँत दुख्ने, दाँतमा कीरा लाग्ने, गिजाबाट रगत आउने, मुख गन्हाउने तथा गिजा सुन्निने लगायतका समस्याको परीक्षण र परामर्श सेवा उपलब्ध गराइएको थियो।त्यसै गरी विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको रक्तचाप तथा रक्तचिनी (सुगर) परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। शिविरमा गुराँस स्वास्थ्य क्लिनी तथा स्माइल डेन्टल क्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मी कृष्ण श्रेष्ठ र ल्याब टेक्निसियन अज्मल खान ले स्वास्थ्य परीक्षण तथा परामर्श सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
शिविरमा विद्यार्थीहरूलाई दाँत तथा मुखको सरसफाइ, स्वस्थ खानपान तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराइएको थियो। सहभागीहरूले विद्यालयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त भएकोमा खुसी व्यक्त गरेका थिए। स्माइल डेन्टल क्लिनिकले बिद्यालय र समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालनलाई निरन्तरता दिने जनाएको छ।
