राप्तीमा आगामी जेठ २९ गते ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी हुने



राप्तीमा आगामी जेठ २९ गते ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी हुने

भालुवाङ २२ जेठ । दाङको राप्ती गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन, नवप्रवर्तन प्रविधिको प्रदर्शन तथा उद्यमशीलता र रोजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै प्रदर्शनीमा सहभागी भई अवलोकन तथा लाभ लिन गाउँपालिकाभित्रका कृषक, कृषि तथा पशुपालन समूह, सहकारी, उद्यमी, युवा, विद्यार्थी, पत्रकार तथा आम नागरिकलाई आग्रह गरेको छ। गाउँपालिकाका अनुसार प्रदर्शनी जेठ २९ गते शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म राप्ती गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन हुने छ। प्रदर्शनीमा कृषि उत्पादन, कृषि औजार तथा प्रविधिको प्रदर्शन, उत्कृष्ट तथा उन्नत जातका पशुपन्छी एवं आहार प्रदर्शनी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादनहरूको प्रदर्शन तथा बिक्री, डिजिटल कृषि सेवासम्बन्धी जानकारी, रोजगार परामर्श, सीप विकास तथा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना प्रदान गरिनेछ।

यस्तै गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवासम्बन्धी जानकारीसमेत प्रदर्शनीमार्फत उपलब्ध गराइने जनाइएको छ। प्रदर्शनीमा स्टल राख्न इच्छुक व्यक्ति वा संस्थाले जेठ २७ गतेभित्र फाेन मार्फत समेत स्टल दर्ता गर्न सक्नेछन्। गाउँपालिकाले स्टल दर्ता निःशुल्क रहने जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक द्वारा जारी सूचनामा प्रदर्शनीले स्थानीय उत्पादनको बजारीकरण, प्रविधि हस्तान्तरण तथा स्वरोजगारका अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे