भालुवाङमा मासु पसलकाे अनुगमनका नाममा औपचारिकता पुरा : मासु जफत भयाे, कारवाही भएन
भालुवाङ २२ जेठ । दाङकाे भालुवाङमा मासुमा किरा भेटिएकाे भिडियाे भाइरल भएपछि राप्ती गाउँपालिकाकाे अनुगमन टाेलीले आज अनुगमनका नाममा औपचारिकता पुरा गरेकाे छ । मासुमा किरा भेटिएकाे पसलका प्राेपाइटर र ग्राहक संग समेत समान्य भेटघाट नगरी फ्रेस हाउसमा रहेकाे मासु जफत गर्दै अनुगमनकाे नाटक मञ्चन गरिएकाे छ ।
राप्ती गाउँपालिकाबाट आएकाे अनुगमन टाेलीले अनुगमनका नाममा मासु जफत गर्ने र समान्य सम्झाईबुझाई गरी अनुगमन पूरा गरेकाे हाे । राप्ती गाउँपालिकाको पशु शाखा प्रमुख दामाेदर आचार्यकाे नेतृत्वमा आएकाे अनुगमन टाेलीले अनुगमनका नाममा औपचारिकता पुरा गरेकाे स्थानीयबासीहरूले बताएका छन् ।
मासु बिक्रेतालाई समान्य चेतावनी समेत नदिई पसलमा रहेकाे मासु जफत गर्नु मात्र अनुगमन नभएकाे स्थानीयहरूकाे भनाई छ । आम नागरिकले दैनिक उपभाेग गर्ने मासु जस्ता चीजमा फ्रेस हाउसवालाकाे चरम गैर जिम्मेवार प्रति अनुगमन टिम मुकदर्शक जस्तै बनेकाे भालुवाङबासीले बताएका छन् ।
सुरक्षाकर्मी र पत्रकार सहित दलबलका साथ अनुगमनमा पुगेकाे टाेलीले नाम मात्रकाे अनुगमन गरेकाे भन्दै स्थानीय नागरिकहरूले असन्तुष्टि ब्यक्त गरेका छन् । अनुगमन टोलीमा राप्ती गाउँपालिकाकाे अनुगमन टाेली, इलाका प्रहरी कार्यालय भालुवाङ र लुम्बिनी प्रदेश सरकारका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रतिनिधि सहभागी टोलीले भालुवाङ बजार क्षेत्रमा रहेका ११ वटा मासु पसलहरूको संयुक्त रूपमा अनुगमन गरेको थियाे। अनुगमनका क्रममा केही पसलमा मानव स्वास्थ्यका लागि अस्वस्थ्यकर अवस्थामा राखिएको मासु फेला परेको अनुगमन टोलीले जनाएको छ। टोलीले कुखुरा र खसीबोकाको गरि करिब ३१ केजी अस्वस्थ्यकर मासु जफत गरेको छ । जफत गरिएको उक्त मासु जनप्रतिनिधि, कर्मचारी तथा प्रहरीको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको छ।
