दाङबाट कर्णाली बैंकका निक्षेपकर्ताद्वारा नेपालगञ्जमा प्रदर्शन, तत्काल आफ्नो रकम फिर्ता गर्न माग
नेपालगञ्ज १८ जेठ । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै दाङका निक्षेपकर्ताहरूले आज आइतबार नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।विगत दुई वर्षदेखि आफ्नो बचत रकम प्राप्त गर्न नसकेका दाङ सहित बाँके र बर्दियाका समेत गरी झण्डै तीन सय निक्षेपकर्ताले नेपालगञ्ज स्थित बैंकको केन्द्रीय कार्यालय नेपालगञ्ज र नेपाल राष्ट्र बैंक नेपालगञ्ज घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताको सहभागिता रहेको थियो । उनीहरूले आफूहरूको रकम यथाशीघ्र फिर्ता गर्न तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । बैंकमा संस्थागत तथा व्यक्तिगत रूपमा रकम जम्मा गरेका सयौँ सेवाग्राही हालसम्म रकम फिर्ता नपाएर समस्यामा परेका छन् ।पीडितहरूले दिएको जानकारी अनुसार बैंकमा केही व्यक्तिको ८० लाख रुपैयाँदेखि ७ करोड रुपैयाँसम्म निक्षेप रहेको छ । रकम फिर्ता नहुँदा धेरै निक्षेपकर्ता आर्थिक तथा मानसिक समस्यामा परेको उनीहरूको गुनासो छ ।

पीडितहरूको दाबी अनुसार बैंकले अझै करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको छ । हालसम्म बैंकमा ३ अर्ब २० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको बताइएको छ । यसैबीच प्रदर्शनमा गएको टोलीले तत्काल पैसा फिर्ताका लागि पहल गरिदिन भन्दै नेपाल राष्ट्र बैंङकलाई ज्ञापन—पत्र समेत बुझाएको छ ।
बाँकी यो हेर्नुस्, प्रदर्शनको पुरा भिडियो…
