संसद्मा लफडा : विपक्षीले फ्याँके कुर्सी, निरन्तर वेल घेराउ (तस्वीरहरू)
काठमाडौं १७ जेठ । प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ । आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो । अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थियो । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा दफावार छलफलका लागि लगिनुपर्ने माग राखे । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेर माग राखिन् ।
तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची तय भएको र त्यसअनुसार अगाडि आएको भनेर सदन अगाडि बढाए । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा ३५ वटा संशोधन परेको छ । सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगे । नाराबाजी गरे । सभामुखको भूमिका माथि प्रश्न उठाए । विपक्षीहरूले विरोधको क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने समेत गरेका छन् ।


