प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध, राजीनामा माग



प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध, राजीनामा माग

काठमाडौँ १७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना सुरु भएको छ।

आइतबार संसद्‌मा सीमा विवादबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभइ नेपालले पनि भारतकाे भूमि अतिक्रमण गरेकाे  बताएका थिए। उनको भनाइ सार्वजनिक भएपछि समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले आपत्ति जनाएका छन्। पूर्वसचिव समेत रहेका सीमाविद् द्वारिकानाथ ढुंगेलले नेपालले भारतको सीमा अतिक्रण गरेको विषय आजसम्म कहीँ पनि नउठेको बताए। पत्रकार सँग कुरा गर्दै ढुंगेलले भने, ‘मैले त यो सम्बन्धमा पहिलोचोटी सुन्दै छु।’ नेपाल र भारतबीचको सीमा विवाद सम्बन्धमा ९८ प्रतिशत समस्या समाधान भइसकेको बताउँदै नेपाली पक्षबाट कहीँ पनि त्यस्तो समस्या नभएको उनको भनाइ छ। ढुंगेलले आफूले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।

प्रधानमन्त्रीले के आधारमा नेपालले भारतकाे सीमा मिचेकाे छ भने । उनले आधिकारिक रूपमा कहाँबाट त्यो सूचना पाए ? हामीले उनीसँग जवाफ माग्नुपर्छ। उनको सूचनाको आधार के हो,’ उनले भने। त्यस्तै, संविधानविद् भीमार्जुन आचार्यले पनि प्रधानमन्त्रीको भनाइ अति नै असामान्य भएको बताए। प्रधानमन्त्रीले बोलेको कुराले नेपाली भूमि अतिक्रमणलाइ वैधानिकता  दिने चिन्ता व्यक्त गरे। ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझैं चिन्ताजनक छ। आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद्‌बाहिर दिएको रेकर्ड छैन,’ आचार्यले अगाडि भने, ‘यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन। यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो।’

साथै उनले नेपालको भौगोलिक खण्डता रक्षा गर्ने सवालमा सरकारको नियतमाथि प्रश्न उठेको उल्लेख गरे। ‘सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ। सिंगो देश र देशवासी झनै सचेत हुनु पर्ने समय आएजस्तो छ,’ उनले भनेका छ। त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्रीको भनाइ आपत्तिजनक भएको बताए। प्रधानमन्त्रीले संसद्‌बाटै अप्रमाणित कुरा गर्नु अनुचित  भएको लिङ्देनको भनाइ छ। ‘भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ,’ लिङ्देनले सामाजिक सञ्जालमार्फत अगाडि भनेका छन्, ‘यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसँग माग गर्दछ।’

राप्रपाले प्रधानमन्त्रीको भनाइबारे सत्तारुढ रास्वपालाई जवाफ दिन माग गरे। उनले भने, ‘यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ।’ एमाले नेता एवं परराष्ट्र मालिलाका जानकार विष्णु रिजालले पनि प्रधानमन्त्रीको भनाइ निराधार राष्ट्रविरोधी अभिव्यक्ति भएको दाबी गरेका छन्। प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएकोप्रति उनले आश्चर्य प्रकट गरेका छन्। रिजालले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर हाकाहाकी कसरी ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर राष्ट्रविरोधी, निराधार र स्वयम् भारतले आजसम्म दाबी नगरेको कुरा बोल्न सकेको होला? माफी मागेर पनि नपुग्ने यस्तो अक्षम्य राष्ट्रघात खुलेआम ओकल्नुपर्ने गरी के बाध्यता आइलागेको होला?’ नेता रिजालले सार्वभौमिकताका विरुद्धमा उभिने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार नभएको टिप्पणी गरे।

‘भित्तामा ग्रेटर नेपालको नक्सा राख्ने र अहिले प्रमाणित नक्सालाई अस्वीकार गरी देशको सार्वभौमिकताका विरुद्धमा उभिने वालेन्द्र शाह एउटै हुन्?,’ रिजालले अगाडि भनेका छन्, ‘यस्ता गैरजिम्मेवार व्यक्तिलाई एक मिनेट पनि पदमा रहने अधिकार छैन। यसका बारेमा रास्वपाले अविलम्ब सोचोस्। याद रहोस्, चुनावमा प्राप्त जनमत राष्ट्रघात गर्ने लाइसेन्स होइन।’ प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसद्‌मा पनि विपक्षी दलहरूले आवाज उठाइरहेका छन्। कांग्रेस सांसद बासना थापा र एमालेकी पद्मामा अर्याललगायतले प्रधानमन्त्रीले विवादस्पद भनाइप्रति जवाफ दिनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे