गणतन्त्र संस्थागत गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण छ : मन्त्री पन्थी
भालुवाङ १५ जेठ । लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी ले गणतन्त्र स्थापना देखि त्यसको संस्थागत विकाससम्म सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
१९ औं गणतन्त्र दिवसका अवसरमा राप्ती प्रेस मञ्च ले लुम्बिनी प्रदेशको प्रवेशद्वार देउखुरीमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै मन्त्री पन्थीले लोकतान्त्रिक व्यवस्थालाई जनतामाझ स्थापित गर्न पत्रकारहरुको योगदान उल्लेखनीय रहेको बताए । उनले जनताको अधिकार, स्वतन्त्रता र समावेशी शासन व्यवस्थालाई बलियो बनाउन सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्दै आएको उल्लेख गरे । मन्त्री पन्थीले गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले ठूलो संघर्ष गरेको स्मरण गर्दै उपलब्धिको संरक्षण र विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । उनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशा दिन सक्ने बताए ।
मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यता र उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता शर्मा चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका परियोजना संयोजक केशब भुसाल र राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेशचन्द्र रिजाल, रामजहदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराज सुवेदी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले दीप प्रज्वलन गर्दै गणतन्त्र दिवसको महत्वबारे चर्चा गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
