देउखुरीकाे लालमटियामा प्रदेश स्तरिय २१३ औं भानु जयन्ती मनाइयाे



देउखुरीकाे लालमटियामा प्रदेश स्तरिय २१३ औं भानु जयन्ती मनाइयाे

देउखुरी २९ असार । साहित्यिक विमर्श एवम् कविता वाचन सहित लुम्बिनी प्रदेश स्तरिय २१३ औं भानु जयन्ती कार्यक्रम प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीकाे लालमटियामा सम्पन्न भएकाे छ । भानु प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना तथा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको संयोजनमा साहित्यिक विमर्श तथा कविता वाचन सहित भानु जयन्ती मनाईएकाे हाे ।

भानु प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष बमबहादुर डिसीको अध्यक्षतामा एवम् प्रजातान्त्रिक सेनानी एवं साहित्यप्रेमी विरकेशरी गौतमकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि गौतमले भानुभक्तले नेपालको भाषिक एकीकरण गरी नैतिक, धार्मिक, वैचारिक र सांस्कृतिक सन्देश विश्वमा फैलाउन महत्त्वपूर्ण योगदान दिएको बताए । साे अवसरमा बाेल्दै  कार्यक्रमका अध्यक्ष बमबहादुर डिसीले भानुभक्तको साहित्यिक विरासतलाई जीवन्त राख्न साहित्यिक विमर्श,सिर्जनात्मक लेखन,अध्ययन र अनुसन्धानलाई निरन्तर अगाडि बढाउन जोड दिए ।

क्याम्पसका उप-प्राध्यापक आनन्दकुमार लामिछानेले
कार्यक्रमको विषय प्रवेश गराउनुका साथै आदिकवि भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व तथा नेपाली भाषा, साहित्यमा दिएको योगदान बारे प्रकाश पार्दै वर्तमान पुस्ताका लागि भानुभक्तको साहित्य अझै सान्दर्भिक रहेको उल्लेख गरे । कार्यक्रममा क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले घाँसीबाट प्राप्त प्रेरणाले भानुभक्तले रामायण रचना गरे जस्तै हामीले पनि आफ्नो जीवनमा समाज र राष्ट्रका लागि कुनै न कुनै सकारात्मक योगदान दिई स्थायी कीर्तिका माध्यमबाट जीवनलाई सार्थक बनाउनु पर्ने धारणा राख्दै सहभागी सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार जिवु अजीव, सहायक क्याम्पस प्रमुख चन्द्रप्रकाश ओली, विद्यार्थी मनिषा खनाल, श्रीकृष्ण अधिकारी लगायतले आ-आफ्ना कविता वाचन गरेका थिए । क्याम्पसका अतिरिक्त क्रियाकलाप समिति संयोजक भेषबहादुर बुढाथोकीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तुलसीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे