दाङको भालुवाङ पुल्चोकबाट डेढ लाख बराबरका अवैध कपडा बरामद
भालुवाङ ३० असार । दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट प्रहरीले बिलबिजक नभएका विभिन्न प्रकारका कपडा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ५ बजे सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा भालुवाङ पुल्चोकबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा सुरुवाल–कुर्ता, ढाकाको थान कपडा, जयपुरी सुरुवाल–कुर्ता तथा धजा कपडा लगायतका सामग्री फेला परेको थियो। ती सामानको कुनै बिलबिजक तथा आवश्यक कागजात नदेखिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको कपडाको अनुमानित मूल्य एक लाख पचास हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
