घर टहरा हटाउने सुचनाले जखेराताल नजिकको बस्ती त्रासमा : रुदै भन्छन् अब हामी कहाँ बस्ने



घर टहरा हटाउने सुचनाले जखेराताल नजिकको बस्ती त्रासमा : रुदै भन्छन् अब हामी कहाँ बस्ने

भालुवाङ १५ जेठ । दाङको लमही नगरपालिका–३ जखेराताल नजिकको बस्तीका स्थानीयहरु कति बेला डोजर आएर आफ्नो घर भत्काउने हो भन्ने त्रासमा छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत क्षेत्रीय प्रहरी आवासीय विद्यालय घोराही, दाङको नाममा रहेको जग्गा खाली गराउन १५ दिने सार्वजनिक सूचना टाँस गरिएपछि त्यहाँका स्थानीय चिन्तित बनेका छन् । लमही–३ निवासी मन्टुना कुमारी चौधरीलाई अहिले न निद्रा लागेको छ, न भोक लागेको छ । बस्ती खाली गर्नुपर्ने सूचना आएपछि उनी कहाँ जाने र कसरी जीवन चलाउने भन्ने चिन्तामा डुबेको बताउँछिन् ।‘रातमा निद्रा छैन । दिनमा भोक छैन । कति रोएका छौं हामी,’ भक्कानिँदै उनले भनिन्, ‘पुलिसहरू आउँछन्, हाम्रो जग्गा हो भन्छन् । सामान लिएर जाऊ भन्छन् । हामी कहाँ गएर बस्ने हो ? हामीलाई व्यवस्था गर्नुपर्छ कि यहीँ बस्न दिनुपर्छ ।’

उनका अनुसार आफूले बसोबास गरिरहेको जग्गा प्रहरीको नाममा रहेको कुरा यसअघि थाहा थिएन । जखेराताल नजिकको समथर जग्गामा घर बनाएर बस्दै आएकी उनी त्यहीँ आफ्नो आधा जीवन बितेको बताउँछिन् । उनीहरूका पुर्खाले २०३४्०३५ सालदेखि खनजोत गर्दै आएका थिए । तर पछि प्रहरी बोर्डिङको नाममा उक्त जग्गा दर्ता गरिएपछि आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ । स्थानीय सौनी चौधरीले पुर्खादेखि नै कमैया र कमलहरीका रूपमा काम गर्दै आएको बताउँदै अहिले आफूहरूलाई विस्थापित गर्न खोजिएको आरोप लगाइन् ।‘बाउबाजे कमैया बसे । हामी कमलहरी बस्यौं । उतिबेलाका जमिनदारले कामको लोभले हामीलाई जग्गा दिएनन्,’ उनले भनिन्, ‘पुर्खाले खोरिया फाँडेर तयार पारेको जग्गा प्रहरी बोर्डिङको नाममा दिए । कुनै प्रहरी आएर यहाँ जग्गा जोतेको छैन । अनि उनीहरूको नाममा कसरी जग्गा गयो ?’

स्थानीयका अनुसार उक्त बस्तीमा अहिले करिब ६२ घरधुरी बसोबास गर्दै आएका छन् । बस्तीका रूपमा २०६२्०६३ सालतिर विकास भएको र तत्कालीन नेकपा माओवादी केन्द्रले यहाँ बसोबास गराएको उनीहरूको भनाइ छ । अधिकांश बासिन्दा थारु समुदायका किसान रहेका छन् । यता प्रहरी पक्षले भने क्षेत्रीय प्रहरी आवासीय विद्यालयको नाममा रहेको जग्गा अतिक्रमण भएको जनाएको छ । प्रहरी स्रोतका अनुसार बस्तीमा बसोबास गर्ने मध्ये करिब ४० घरधुरीको अन्यत्र पनि बसोबास रहेको खुलेको छ भने २२ घरधुरीको अन्यत्र बसोबास भए नभएको स्पष्ट नभएको जनाएको छ ।

क्षेत्रीय प्रहरी आवासीय विद्यालय, घोराही, दाङले जारी गरेको सूचनामा साविक सोनपुर गाविस–५ हाल लमही नगरपालिका–३ स्थित कित्ता नम्बर ४१४ को २१ विगाह ९ धुर ७ कट्ठा क्षेत्रफलको जग्गा अनधिकृत रूपमा कब्जा गरी घरटहरा निर्माण गरिएको उल्लेख गरिएको छ । प्रहरी निरीक्षक रामकुमार केसीद्वारा हस्ताक्षरित सूचनामा १५ दिनभित्र घरटहरा तथा अन्य भौतिक संरचना हटाई जग्गा खाली गर्न आग्रह गरिएको छ । तोकिएको समयभित्र संरचना नहटाए कानुन बमोजिम हटाइने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे