शान्ति सुरक्षा मजबुद बनाउन पत्रकारसँग सहकार्य गर्ने प्रहरी निरीक्षक बुढाथोकीको प्रतिबद्धता
भालुवाङ ३० असार । इलाका प्रहरी कार्यालय गढवाका नवआगन्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले गढवा र राजपुर क्षेत्रको शान्ति सुरक्षा, सीमाक्षेत्रको व्यवस्थापन तथा अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार इलाका प्रहरी कार्यालय गढवाले देउखुरी क्षेत्रका पत्रकारहरूसँग आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, लागूऔषध तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्। हालै गढवाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बुढाथोकीले स्थानीय तह, सरोकारवाला निकाय तथा सञ्चारकर्मीबीचको समन्वयबाट मात्रै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गरे। उनले पत्रकारहरूले समाजका विभिन्न गतिविधि र समस्यालाई उजागर गर्ने भएकाले सुरक्षा निकायलाई आवश्यक सूचना तथा सुझाव प्राप्त गर्न सञ्चार क्षेत्र महत्वपूर्ण साझेदार रहेको बताए। “गढवा र राजपुर क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमाक्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने हाम्रो प्रमुख लक्ष्य हो,” उनले भने, “यसका लागि पत्रकार साथीहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौं।”
उनले प्रहरी कार्यालयबाट प्रवाह हुने सूचना तथा गतिविधिहरूलाई छिटो, छरितो र विश्वसनीय रूपमा सञ्चार माध्यमसम्म पुर्याउने व्यवस्था मिलाइने जानकारी दिए। जनताको गुनासो तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवाप्रति नागरिकको विश्वास बढाउने दिशामा आफू केन्द्रित रहने उनको भनाइ थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले गढवा र राजपुर क्षेत्रको वर्तमान सुरक्षा अवस्था, सीमावर्ती क्षेत्रमा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीयस्तरमा हुने विभिन्न सामाजिक तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र सञ्चारकर्मीबीच नियमित संवाद आवश्यक रहेको धारणा राखेका थिए।
पत्रकारहरूले सीमाक्षेत्रमा हुने अवैध ओसारपसार, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, सवारी दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन तथा साइबर अपराधजस्ता विषयमा प्रहरीको सक्रियता अझ बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले जनचासोका विषयमा तथ्यपरक सूचना उपलब्ध गराउन र सूचना सम्प्रेषणलाई सहज बनाउन पनि आग्रह गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, नेपाल टेलिभिजनका दशरथ घिमिरे, हिमालय टेलिभिजनका सन्तोष कुमार गुप्ता, नयाँ युगबोध राष्ट्रिय दैनिकका शिवराज पन्थी, गणतन्त्र राष्ट्रिय दैनिकका आलोक भावुक, गोरक्ष राष्ट्रिय दैनिकका प्रियास्मृति गजमेर, दंगाली अनलाइन खवरका कार्यकारी सम्पादक मुक्तिराम पाैडेल, देउखुरी टुडेका श्रीधर कडेल, सिधापत्र अनलाइनका भानु जोशी, टेकेन्द्र वली लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
