बालबालिकाको सर्वोत्तम हित र न्यायका सवालमा पत्रकारहरु जिम्मेवार बन्नुपर्नेमा जोड
भालुवाङ २९ असार । लुम्बिनी प्रदेशका पत्रकारहरूका लागि सञ्चालित दुई दिने बाल अधिकार तथा बालकेन्द्रित पत्रकारिता कार्यशाला सोमबार सम्पन्न भएको छ।
पिस नेपालद्वारा सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारा स्थित होटल इभरल्याण्डमा सञ्चालित कार्यशाला सकिएको हो । २ दिने कार्यशालाको सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा बाल सहजकर्ता दुर्गालाल केसीले बालबालिकासँग सम्बन्धित विषयमा समाचार लेख्दा पत्रकारले विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए। उनले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके मात्र पत्रकारिताले सामाजिक उत्तरदायित्व पूरा गर्ने उल्लेख गरे। “बालबालिका कुनै समाचारका पात्र मात्र होइनन्, उनीहरू अधिकार सम्पन्न नागरिक हुन्,” केसीले भने, “पत्रकारले उनीहरूको आवाजलाई सम्मान गर्दै न्याय, संरक्षण र सहभागिताका सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ। बालबालिकालाई थप पीडा पुग्ने, सामाजिक रूपमा अपमानित हुने वा भविष्यमा असर पर्ने खालका सामग्री प्रकाशन वा प्रसारण गर्नु हुँदैन।” उनले बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाबारे जानकारी गराउँदै बालबालिकासम्बन्धी समाचारमा प्रयोग गरिने भाषा, तस्वीर, भिडियो र पहिचान खुलाउने विषयमा विशेष सावधानी अपनाउनुपर्ने बताए। पत्रकारिताले बालमैत्री समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले बाल अधिकारमैत्री सञ्चार अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकी वरिष्ठ महिला विकास अधिकृत संझना सुवेदीले पत्रकारहरूलाई बालबालिकाका विषयमा कलम चलाउँदा अझ बढी जिम्मेवार र संवेदनशील बन्न आग्रह गरिन् । उनले कतिपय अवस्थामा समाचार संकलनका क्रममा बालबालिका तथा उनीहरूका अभिभावकको अनुमति बिना अन्तर्वार्ता लिने, तस्वीर खिच्ने वा पहिचान खुलाउने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन आग्रह गरिन्। “बालबालिकाको गोपनीयता संरक्षण गर्नु पत्रकारको नैतिक दायित्व हो,” सचिव सुवेदीले भनिन्, “विशेष गरी हिंसा, शोषण, दुर्व्यवहार, अपराध वा संवेदनशील घटनामा संलग्न बालबालिकाको पहिचान खुलाउने कार्यले उनीहरूको भविष्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले समाचार सम्प्रेषण गर्दा कानुनी व्यवस्था र नैतिक मापदण्ड दुवैलाई पालना गर्नुपर्छ।” उनले बालमैत्री शासन, बाल संरक्षण तथा बाल अधिकारको प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै राज्यका प्रयासलाई प्रभावकारी बनाउन पत्रकारहरूको रचनात्मक सहयोग आवश्यक रहेको धारणा व्यक्त गरिन्।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा बाल अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी आधार, संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि, नेपालको बालबालिकासम्बन्धी ऐन, बाल संरक्षणका मापदण्ड, बालमैत्री पत्रकारिता, समाचार लेखनमा नैतिकता, बालबालिकासँग अन्तर्वार्ता लिने विधि तथा बालमैत्री सञ्चार अभ्यासका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यशालाको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा बाल सहजकर्ता दुर्गालाल केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाैलागाई, पिस नेपालका बाल अधिकार संयोजक विजयकुमार अधिकारी रहेका थिए । कार्यक्रममा २ दिन सम्म सिकेको अनुभव सहितको भनाई सहभागी पत्रकार विष्णु खनाल र बाल क्लव दाङकी संयोजक मनिसा वलीले राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन पिस नेपालका कार्यकारी निर्देशक मणिप्रसाद गैरैले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट समावेशिताका आधारमा २/२ जना बाल अधिकारका क्षेत्रमा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियाे।
प्रतिक्रिया दिनुहोस्
