सरसफाई रनिङ शिल्डमा राप्तीकाे वडा नं. ३ र डिजिटल अवार्डमा आशाका किरण संस्था प्रथम
भालुवाङ २९ असार । दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको सरसफाई रनिङ शिल्ड प्रतियोगितामा वडा नं. ३ प्रथम भएको छ भने सरसफाई डिजिटल अवार्ड तर्फ आशाका किरण संस्था उत्कृष्ट घोषित भएको छ।
गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालन गरिएको प्रतियोगितामा वडा नं. १ द्वितीय र वडा नं. ८ तृतीय भएका छन् । ‘पवित्रता हाम्रो पहिचान, सरसफाईको महान कार्यमा हुनुपर्छ मेरो योगदान’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत सार्वजनिक सरसफाईमा समुदायको सहभागिता अभिवृद्धि गर्दै सरसफाईलाई दिगो संस्कारका रूपमा विकास गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ। सोमबार आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रथम हुने वडा नं. ३ लाई एक लाख रुपैयाँ बराबरको सरसफाई सामग्री, रनिङ शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। द्वितीय हुने वडा नं. १ लाई ५० हजार रुपैयाँ बराबरको सरसफाई सामग्रीसहित प्रमाणपत्र तथा तृतीय हुने वडा नं. ८ लाई २० हजार रुपैयाँ बराबरको सरसफाई सामग्रीसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिता अन्तर्गत प्रत्येक वडाका टोल विकास संस्थामध्ये प्रथम, द्वितीय र तृतीय हुने संस्थालाई क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो। गाउँपालिका अन्तर्गतका सबै टोल विकास संस्थालाई झोला वितरण गरिएको थियो भने सरसफाई अभियानमा योगदान पुर्याउने दुई दर्जनभन्दा बढी संघसंस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो। राप्ती गाउँपालिका सरसफाइ रनिङ शिल्ड सञ्चालन कार्यविधि, २०८२ अनुसार खुला दिसामुक्त अवस्थाको निरन्तरता, सार्वजनिक स्थलको सरसफाई, विद्यालय तथा स्वास्थ्य संस्थामा साबुनपानीको उपलब्धता, फोहोरको वर्गीकरण, टोल तथा वडा सौन्दर्यकरण, मासिक सरसफाई बैठक तथा कार्यक्रमको नियमितता लगायत ९ वटा सूचकका आधारमा मूल्यांकन गरिएको गाउँपालिकाले जनाएको छ।
यसैगरी, सरसफाई डिजिटल अवार्ड प्रतियोगितामा आशाका किरण संस्था प्रथम, विश्वज्ञान क्षेत्रीको समूह द्वितीय र विक्रम केसीको समूह तृतीय भएका छन्। आशाका किरण संस्था र विश्वज्ञान क्षेत्रीको समूहले समान अंक प्राप्त गरेपछि गोलाप्रथामार्फत आशाका किरण संस्थालाई प्रथम घोषणा गरिएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। सात समूह सहभागी प्रतियोगितामा सरसफाइसम्बन्धी गतिविधि र स्थानीय पहल समेटिएका ३० सेकेन्डदेखि तीन मिनेटसम्मका भिडियो प्रस्तुत गरिएका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सरसफाई झाडु लगाउने कार्यमा मात्र सीमित नभई सभ्यता, संस्कार, अनुशासन र जिम्मेवारीसँग जोडिएको जीवनशैली भएको बताए । स्वच्छ र स्वस्थ राप्ती निर्माणका लागि सरसफाईलाई विकासको केन्द्रमा राखिएको उल्लेख गर्दै उनले सरसफाईलाई समुदायको संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । टोल विकास संस्था तथा समुदायको सक्रिय सहभागितामार्फत पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको अभियानलाई निरन्तरता दिइने उनले बताए।
उपाध्यक्ष कमलापति चौधरीले प्रतियोगिताले वडाहरूबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको उल्लेख गर्दै सरसफाई स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाई अभियानको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार र समुदायबीचको सहकार्य तथा नियमित जनसहभागिता अपरिहार्य रहेको उल्लेख गरे। पुरस्कार वितरण कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी, सुरक्षाकर्मी,सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
