प्यूठानको सरुमारानीमा पाँचौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु
भालुवाङ १५ जेष्ठ । प्यूठानको सरुमारानी गाउँपालिका—२, रानीबगिया दर्भानमा आज शुक्रबार देखि पालिकास्तरिय पाँचौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । सरूमारानी गाउँपालिका युवा तथा खेलकुद विकास समितीको आयोजना तथा सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्धाटन गर्दै संविधानसभा सदस्य धनबहादुर राईमाझीले खेलकुदको माध्यमबाट पालिकाको पहिचान कायम गर्न र सामाजिक एकता कायम गर्न खेलकुदले ठुलो भूमिका निर्वाह गर्ने बताए । उनले खेलकुदलाई लगनशिल, अनुशासित, मर्यादित, स्वास्थ्यबद्धक बनाउन आवश्यक रहेको बताए । संविधान सदस्य राइमाझीले खेलकुदको माध्यमबाट युवाहरुमा एकता कायम गर्न महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।

यस्तै खेलकुद प्रतियोगिता उद्धाटन कार्यक्रममा बोल्दै सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले खेलकुद मार्फत युवाहरुलाई असल नागरिक बनाउने अभियानमा स्थानीय सरकार रहेको बताए । उनले खेलकुदलाई सभ्य, अनुशासित, असल र मित्रबद्ध रुपमा सञ्चालन गर्न सुझाब दिए । अध्यक्ष विश्पवकर्माले स्थानीय सरकारले अन्य आवश्यकता तथा विकासका कामलाई समेत थाती राखेर खेलकुदमा बजेट विनियोजन गरेको बताउँदै बजेटलाई सही सदुपयोग गर्न सुझाब समेत दिए ।

समितीका अध्यक्ष भरत एमसीको अध्यक्षता एवम् संविधानसभा सदस्य धनबहादुर राईमाझीको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिताको उद्धाटन गरिएको थियो । तीन दिन सम्म चल्ने खेलकुद प्रतियोगिता फूटबल, भलिबल, क्रेकेट र ब्याडमिन्टन खेल बीच प्रतिस्पर्धा हुने समितीका संयोजक एमसीले जानकारी दिए ।
प्रतियोगितामा पालिकाको ६ वटा वडाबाट एक—एक वटा समूहलाई सहभागी गराइएको छ । जसमा भलिबल तर्फ पुरुष र महिला ६/६ वटा समूह, फूटवल पुरुष मात्र ६ वटा समूह, क्रिकेट पुरुष मात्र ६ वटा समूह र ब्याडमिन्टन पुरुष मात्र ६ वटा समूहले भाग लिएकोको खेलकुद संयोजक एमसीले जानकारी दिए ।

कार्यक्रममा सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम, नेपाली कम्युनिष्ट पार्टीका संयोजक गुप्तबहादुर राना र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरे । उद्घाटन कार्यक्रमको सञ्चालन समितीका सचिव नमराज भण्डारीले गरेका थिए ।






