गणतन्त्र दिवसमा मन्त्री र सांसदहरू उपस्थित नहुनु गणतन्त्र माथिको अपमान हो : सभामुख घर्ती



गणतन्त्र दिवसमा मन्त्री र सांसदहरू उपस्थित नहुनु गणतन्त्र माथिको अपमान हो : सभामुख घर्ती

भालुवाङ १५ जेठ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गणतन्त्र दिवसमा मन्त्री र सांसदहरू उपस्थित नहुनु दुखद पक्ष भएको र यसले गणतन्त्र माथिको अपमान भएको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धि माथि प्रदेशकै मन्त्री तथा सांसदहरू उपस्थित नहुनु कर्मचारीहरूले कार्यक्रमलाई सफल बनाइदिनुपर्ने बताउँदै मन्त्री र सांसदहरूलाई सच्चिन आग्रह गरे । साथै सभामुख घर्तीले नागरिकको बलिदानीको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन हुन आवश्यक रहेको बताए । उनले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सार्वभौम नागरिकको सम्मान यसै व्यवस्थामा सुरक्षित रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए ।

‘लोकतान्त्रिक गणतन्त्र लामो संघर्षपूर्ण बलिदानबाट प्राप्त उपलब्धि हो । यही शासन व्यवस्थालाई कमजोर पार्न, संसदीय मूल्य मान्यतालाई कमजोर बनाउन दुस्साहस भइरहेको छ । यसको खबरदारी गर्न जरुरी छ’उनले भने,‘सचेत नागरिकको हैसियतले यो व्यवस्थाको रक्षाका निम्ति सबै एकजुट हुन जरुरी छ ।’ उनले जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरु हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताए । मुख्यमन्त्री आचार्यले गणतन्त्र प्राप्तिपछि विकास निर्माणको क्षेत्रमा कायापलट भएको बताए । भौतिक, सामाजिक तथा नागरिक अधिकारका क्षेत्रमा असाधारण विकास भए पनि केही नभएको भाष्य निर्माण गरिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘प्रदेश स्थापना भएपछि पनि धेरै विकास भएको छ । नागरिकको जीवनमा परिवर्तन आएको छ । तर, केही भएन भन्ने भाष्य खडा गरेर मुलुकलाई कमजोर पार्ने काम भइरहेको छ,’उनले भने । संघीय लोकतान्त्रिक व्यवस्थाले हरेक क्षेत्रमा नागरिक सहभागिता सुनिश्चित गरेको उनको भनाइ थियो । प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाइ, दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुसिला अर्यालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यले गरेका थिए ।

यसैबीच गणतन्त्र दिवस समारोहका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ । उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका तत्कालिन प्रदेश सचिव याम नारायण देवकोटा तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याल सम्मानित थिए । त्यस्तै प्रदेश निजामती सेवा पुरस्कारबाट वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन अधिकृत मनोजकुमार श्रेष्ठ तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत शिवप्रसाद न्यौपाने सम्मानित भए ।

यसैगरी उत्कृष्ट कार्यसम्पादनका आधारमा सामाजिक विकास मन्त्रालयकी वरिष्ठ शिक्षा अधिकृत बेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी तथा स्वास्थ्य कार्यालय रोल्पाकी वरिष्ठ पब्लिक हेल्थ नर्स निरीक्षक सीता कुँवरलाई सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी प्रदेश सभा तर्फ उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे