मुख्यमन्त्री आचार्यद्वारा गणतन्त्र दिवसको शुभकामना : गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन आह्वान



मुख्यमन्त्री आचार्यद्वारा गणतन्त्र दिवसको शुभकामना : गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन आह्वान

भालुवाङ १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

१९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । उनले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासन व्यवस्थाको आधार तयार भएको बताएका छन् । मुख्यमन्त्री आचार्यले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै परिवर्तनका लागि संघर्ष गर्ने राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, युवा, महिला तथा आन्दोलनमा सहभागी सम्पूर्ण नागरिकप्रति सम्मान प्रकट गरेका छन् ।
उनले गणतन्त्रले अधिकारसँगै जिम्मेवारी पनि दिएको उल्लेख गर्दै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारहरूको भूमिका सशक्त बनाउदै लगिएको बताए ।

संविधानको भावना अनुरूप लुम्बिनी प्रदेश सरकारले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना, न्यायोचित वितरण र पारदर्शी शासन प्रणालीमार्फत मात्रै गणतन्त्रको उद्देश्य पूर्ण रूपमा साकार हुने भएकाले प्रदेश सरकारले यि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । गणतन्त्र दिवस विगतका संघर्षको स्मरण मात्र नभई समृद्ध भविष्य निर्माणप्रतिको प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्दै गणतन्त्रको उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे