विद्यालयमा बढ्दै लागूऔषधको जोखिम : आशाका किरण संस्थाद्धारा सचेतना कार्यक्रम
भालुवाङ ११ जेठ । दाङको राप्ती गाउँपालिकामा पछिल्लो समय स्कूले उमेरका बालबालिकाहरु लागूऔषध दुव्र्यसनतर्फ आकर्षित हुन थालेपछि स्थानीय स्तरमा चिन्ता बढ्दै गएको छ ।

यही बढ्दो जोखिमलाई मध्यनजर गर्दै आशाका किरण संस्थाल समय समयमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम गर्दै आएको छ । संस्थाले विद्यार्थीहरूलाई लागूऔषधको कुलतबाट जोगाउन तथा सभ्य र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले विद्यालय सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा राप्ती गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा आशाका किरण संस्थाले सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राप्ती गाउँपालिका–१ भालुवाङमा लागूऔषध दुव्र्यसन सम्बन्धी विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरेकोे छ । संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षता तथा वडा सदस्य चुमानसिंह खत्री क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक गणेश पौडेलले विद्यार्थीहरूलाई लागू पदार्थको परिचय, यसको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरका बारेमा जानकारी गराएका थिए । उनले लागूऔषध सेवनकर्तामा देखिने प्रारम्भिक लक्षणहरू, साथीभाइको गलत संगतबाट जोगिने उपाय, पारिवारिक निगरानीको भूमिका तथा सकारात्मक जीवनशैली अपनाउने विषयमा समेत प्रशिक्षण दिएका थिए । प्रशिक्षक पौडेलले किशोर अवस्थाका बालबालिका सबैभन्दा संवेदनशील हुने भएकाले उनीहरूलाई सही मार्गदर्शन आवश्यक पर्ने बताए । “साथीको दबाब, जिज्ञासा, पारिवारिक वातावरण र सामाजिक प्रभावका कारण किशोरहरू कुलतमा फस्ने सम्भावना बढी हुन्छ,” उनले भने, “त्यसैले विद्यालय, अभिभावक र समाज सबैले मिलेर सचेतना फैलाउन जरुरी छ ।”

कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यमबहादुर विकले लागूऔषध सेवन तथा बिक्रीवितरण सम्बन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी दिएका थिए । उनले लागूऔषध कारोबार तथा सेवन कानुन विपरीत कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिलाई कानुन अनुसार कडा कारवाही हुने बताए । प्रहरी सहायक निरीक्षक विकले विशेषगरी युवा पुस्ता र विद्यार्थीहरूलाई गलत संगतबाट टाढा रहन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका थिए । उनले लागूऔषधले व्यक्ति, परिवार र समाज तीनै तहलाई असर गर्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य चुमानसिंह खत्री क्षेत्रीले लागूऔषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । उनले विद्यालय तहबाट सुरु गरिएको अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कक्षा ८, ९ र १० का करिव २ सय जना विद्यार्थीहरको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देउकुमार वली, आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, प्रेस संयोजक ओमप्रकाश गुप्ता, महासचिव लोकमणी भुसाल, प्रहरी जवान सुधा राउत क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
