राप्ती आधारभूत अस्पतालद्वारा ८ जना जग्गादाता र ४४ जना आर्थिक सहयोगदातालाई सम्मान



राप्ती आधारभूत अस्पतालद्वारा ८ जना जग्गादाता र ४४ जना आर्थिक सहयोगदातालाई सम्मान
सिसहनियाँ २७ असार । दाङको राप्ती गाउँपालिका–५ कालापानीमा रहेको राप्ती आधारभूत अस्पतालले अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता तथा आर्थिक सहयोग गर्ने सहयोगदातालाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेकाे छ।
 अस्पतालले शनिबार एक विशेष समारोहका बीच ८ जना जग्गादाता र ४४ जना आर्थिक सहयोगदातालाई सम्मानपत्र, टीका, फूलमाला तथा दोसल्ला ओढाएर उनीहरूको योगदानको कदर गरेको हो। सम्मानित हुने जग्गादाताहरूमा राप्ती गाउँपालिका–५ कालापानी निवासी भूपू सैनिक झकबहादुर सारू, कुमारी माया आचार्य, कालुप्रसाद चौधरी, देवप्रसाद चौधरी, गोविन्दबहादुर कुँवर क्षेत्री, मंगलप्रसाद चौधरी, मन्तुराम चौधरी र पल्टुराम चौधरी रहेका छन् । त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला चौँरी देउराली–५ निवासी निर्माण व्यवसायी रविकुमार गौतमसहित ४४ जना आर्थिक सहयोगदातालाई पनि सम्मान गरिएको थियो।
अस्पताल विकास समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले अस्पतालको वर्तमान अवस्था जनस्तरबाट प्राप्त सहयोगको प्रतिफल भएको बताए। “इच्छाशक्ति, प्रतिबद्धता र सामूहिक सहयोग भएमा जनस्तरबाट पनि ठूला योजनाहरू सफल बनाउन सकिन्छ,” उनले भने, “राप्ती आधारभूत अस्पताल आज जुन अवस्थामा पुगेको छ, त्यसमा जग्गादाता, आर्थिक सहयोगदाता तथा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको छ।”
उनले स्वास्थ्य क्षेत्रको विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा अस्पताललाई थप सुविधा सम्पन्न बनाइने जानकारी दिए । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर आगामी आर्थिक वर्षदेखि डाइलाइसिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले बताए । “मिर्गौला रोगका बिरामीहरू उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न डाइलाइसिस सेवा सञ्चालन गर्ने योजना बनाएका छौं,” अध्यक्ष विष्टले भने, “स्वास्थ्य सेवामा आत्मनिर्भर र प्रभावकारी संरचना निर्माण गर्दै राप्तीलाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो।” कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील केसीले अस्पतालले प्रदान गरिरहेको सेवा तथा आगामी योजनाबारे जानकारी गराए । उनले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न अस्पताल प्रतिबद्ध रहेको बताए। “स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार हो,” डा. केसीले भने, “पैसाको अभावमा कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ अस्पतालले विभिन्न निःशुल्क तथा सहुलियतपूर्ण सेवाहरू सञ्चालन गरिरहेको छ।” उनले अस्पतालमा उपलब्ध सेवा विस्तारसँगै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियानलाई समेत निरन्तरता दिइएको जानकारी दिए। घरदैलोमै पुगेर स्वास्थ्य परामर्श तथा आधारभूत उपचार सेवा उपलब्ध गराउने कार्यले नागरिकहरूलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ थियो।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष विष्टले ‘विपद् उद्धार शीघ्र परिचालन प्रणाली’ तथा ‘अनलाइन टोकन सिस्टम’ को समेत उद्घाटन समेत गरे। अस्पतालमा सेवाग्राहीहरूको चाप व्यवस्थापन, सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउने उद्देश्यले अनलाइन टोकन प्रणाली सुरु गरिएको अस्पतालले जनाएको छ।
त्यसैगरी विपद् उद्धार शीघ्र परिचालन प्रणालीले आकस्मिक तथा विपद्को अवस्थामा स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा व्यवस्थापनलाई सुदृढ बनाउने दिशामा अस्पतालले महत्वपूर्ण कदम चालेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा राप्ती गाउँपालिकाका पूर्व उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जग्गा समस्या समाधान कार्यदलका संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, आर्थिक सहयोगदाता नारायण शर्मा तथा जग्गादाता भूपू सैनिक झकबहादुर सारू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले अस्पताल निर्माण तथा विस्तारमा स्थानीय समुदायको सक्रिय सहभागिताले विकासको नयाँ उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै आगामी दिनमा पनि अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए। विशेष गरी जग्गादाता तथा आर्थिक सहयोगदाताहरूले अस्पताल निर्माणका लागि देखाएको उदारताले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उनीहरूको योगदानलाई भावी पुस्ताले समेत सम्झिने वक्ताहरूले बताएका थिए। उनीहरूले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गरिएको सहयोगले हजारौं नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता योगदानहरू अत्यन्तै प्रेरणादायी रहेको धारणा व्यक्त गरेका थिए। राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन आकाश केसीले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जग्गा तथा आर्थिक सहयोगदाता, स्वयमसेविका, समाजसेवी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे