देउखुरी वारियर्सलाई दाङ भ्याकेशनल लिगको उपाधि



देउखुरी वारियर्सलाई दाङ भ्याकेशनल लिगको उपाधि

भालुवाङ २७ असार । देउखुरी वारियर्स स्पोर्ट्स एकेडेमी लमहीले त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरलाई ५ विकेटले पराजित गर्दै नेवा सप्लायर्स दाङ जिल्ला भ्याकेशनल लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा तथा नेवा सप्लायर्सको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा देउखुरीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको हो। तीन दिने ढाँचामा खेलिएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिशिदेश्वरी पहिलो इनिङ्समा २२.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो। उसका लागि विजय डाँगीले २४ रन, शंकर बुढा र करणकुमारले समान १२ तथा सुमन वलीले ११ रन बनाए। देउखुरीका शुभम खनालले ६ तथा सूर्य थापाले २ विकेट लिए। जवाफमा देउखुरी दोस्रो इनिङ्समा २६.४ ओभरमा ८७ रनमै अलआउट भयो। शुभम खनालले ३२ रन, आदर्श भण्डारीले १४, सन्दीप थापाले १२ तथा राजकुमार कुमालले १० रन जोडे। त्रीशिदेश्वरीका शंकर बुढा र दानिश अन्सारीले समान ४–४ विकेट लिए। पहिलो इनिङ्सपछि त्रिशिदेश्वरीले ४ रनको अग्रता बनाएको थियो।

तेस्रो इनिङ्समा त्रिशिदेश्वरीले कमजोर प्रदर्शन गर्दै २५.४ ओभरमा ४८ रनमै सबै विकेट गुमायो। विजय डाँगी, सन्दीप भुल र दानिश अन्सारीले समान ९ तथा सुमन वलीले ८ रन बनाए। देउखुरीका शुभम खनालले एक्लैले ७ विकेट लिएर विपक्षीलाई सस्तैमा समेटे। ५२ रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले चौथो इनिङ्समा १६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ५ विकेटको जित निकालेको हो। देउखुरीका लागि शुभम खनालले १९ रन, सुलभ श्रेष्ठ र सन्दीप थापाले समान १५ रनको योगदान दिए। त्रिशिदेश्वरीका शंकर बुढाले ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। फाइनल खेलका प्लेयर अफ द म्याच देउखुरीका शुभम खनाल घोषित भए। उनले खेलमा कुल १३ विकेट लिनुका साथै ब्याटिङतर्फ ५१ रनको महत्वपूर्ण योगदान दिएका थिए। प्रतियोगितामा दाङ जिल्लाका ९ वटा क्रिकेट क्लबको सहभागिता रहेको थियो। लिग चरणमा ३६ एकदिवसीय खेल सम्पन्न भएपछि शीर्ष चार टोली सेमिफाइनलमा पुगेका थिए।

पहिलो सेमिफाइनलमा त्रिशिदेश्वरी स्पोर्ट्स क्लबले पुरन्धारा क्रिकेट क्लब बबईलाई ६० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। दोस्रो सेमिफाइनलमा देउखुरी वारियर्स स्पोर्ट्स एकेडेमीले घोराही क्रिकेट एकेडेमीलाई ८३ रनले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो। अन्ततः फाइनलमा त्रीशिदेश्वरीलाई ५ विकेटले पराजित गर्दै देउखुरी वारियर्सले दाङ भ्याकेशनल लिगको उपाधि आफ्नो नाम गरेको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे