गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ २७ असार । अहिले देशका सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाडी र तराई भागको एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयको विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाण्डौ उपत्यका भित्रबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।  अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।  यसैबीच केही ठाउँमा पहिरो र बाढीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नुअघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे