राप्तीमा विद्यार्थीको सुरक्षाका लागि स्कुल बस चेकजाँच : चालक र सहचालकलाई ट्राफिक शिक्षा
भालुवाङ २७ असार । विद्यार्थीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा सञ्चालनमा रहेका स्कुल बसका चालक तथा सहचालकलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ ।
संस्थागत विद्यालय समन्वय समितिको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको समन्वयमा शनिबार राप्ती गाउँपालिका–२ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा ट्राफिक सचेतना तथा स्कुल बस प्राविधिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो । पछिल्लो समय विद्यालयका सवारीसाधन सञ्चालनमा लापरवाही बढ्दै गएको, कतिपय बसहरूमा प्राविधिक समस्या देखिएको तथा चालक–सहचालकले ट्राफिक नियमको पूर्ण पालना नगरेको भन्ने जनगुनासो स्थानीय स्तरमा बढ्न थालेपछि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । विद्यालय जाने बालबालिकाको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सम्बन्धित निकाय, विद्यालय तथा सरोकारवालाहरूको संयुक्त पहलमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेमप्रसाद पोख्रेलले चालक तथा सहचालकहरूलाई ट्राफिक नियम, सडक सुरक्षाका मापदण्ड, विद्यालय बस सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायहरूबारे जानकारी गराएका थिए । उनले चालकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिन सक्ने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे । प्रहरी वरिष्ठ नायव निरीक्षक पोख्रेलले विद्यालय बसहरूमा विद्यार्थीको जीवन र सुरक्षाको जिम्मेवारी चालक र सहचालककै काँधमा रहने भएकाले उनीहरू थप जिम्मेवार हुनुपर्ने बताए । “विद्यालय बस साधारण सार्वजनिक सवारीसाधनभन्दा फरक प्रकृतिका हुन्छन् । यसमा बालबालिकाहरू यात्रा गर्ने भएकाले चालकले विशेष सतर्कता अपनाउनुपर्छ,” उनले भने ।
ट्राफिक शिक्षा कार्यक्रमसँगै स्कुल बसहरूको प्राविधिक अवस्था परीक्षण गर्ने उद्देश्यले ४५ वटा स्कुल बसको चेकजाँच समेत गरिएको थियो । चेकजाँचका क्रममा अधिकांश बसहरूमा विभिन्न प्रकारका कमजोरी तथा प्राविधिक समस्या भेटिएको प्रहरीले जनाएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक पोख्रेलका अनुसार परीक्षण गरिएका अधिकांश बसमा स्पष्ट नम्बर प्लेट नभएको, साइड लाइट बिग्रिएको, बसको रङ धमिलो भएको, सिटहरू जीर्ण अवस्थामा रहेको तथा केही बसहरूमा आवश्यक सुरक्षा मापदण्डसमेत पूरा नभएको पाइएको छ । यस्ता कमजोरीहरूले दुर्घटनाको जोखिम बढाउने भएकाले सम्बन्धित विद्यालय व्यवस्थापनलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको उनले बताए । चेकजाँचका क्रममा बसहरूको ब्रेक प्रणाली, संकेत बत्ती, टायरको अवस्था, आपतकालीन सामग्री, नम्बर प्लेट, बाह्य तथा आन्तरिक संरचना लगायतका पक्षहरू परीक्षण गरिएको थियो ।
प्राविधिक परीक्षणपछि सुधार गर्नुपर्ने विषयहरूको सूची विद्यालय प्रतिनिधिहरूलाई उपलब्ध गराइएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख देवी मल्लले विद्यार्थी सुरक्षाको विषयलाई सबै विद्यालयले प्राथमिकतामा राख्नुपर्ने बताइन् । उनले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र पर्याप्त नहुने भन्दै विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा सुरक्षित वातावरण सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण दायित्व भएको उल्लेख गरिन् । उनले विद्यालय सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालकहरूको क्षमता अभिवृद्धि तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन मार्फत दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिने बताए । “हामीले विद्यालयभित्र मात्र होइन, विद्यालय आउजाउ गर्ने सम्पूर्ण प्रक्रियामा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नुपर्छ,” उनले भनिन् ।
संस्थागत विद्यालय समन्वय समितिका अध्यक्ष चम्पकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने, कार्यक्रम संयोजक विभिषण अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सचिव देवेन्द्रराज कडेल, सदस्यहरू मोतीराम भट्टराई र मुक्तिराम पौडेल, प्राविधिक चेकजाँच पदम हरिजन, काशीराम चाैधरी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । राप्ती प्याब्सनका अध्यक्ष रामप्रसाद शर्माको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थागत विद्यालय समन्वय समितिका सचिव विनोद बेल्वासेले गरेका थिए । कार्यक्रममा सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयका करिब ९० जना चालक तथा सहचालकको सहभागिता रहेको थियो ।
